१८ चैत काठमाडौँ । डिजिटल हिंसाको सिकार बनेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार औपचारिक रूपमा उजुरी दर्ता गराएकी हुन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउको विरोधमा आयोजित प्रदर्शनमा सहभागी हुँदा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आफूविरुद्ध गालीगलौच र धम्की आएको पराजुलीले बताएकी छन्।
प्रदर्शनपछि विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा उनलाई लक्षित गर्दै अश्लील शब्द प्रयोग गर्ने, अपमानजनक टिप्पणी गर्ने तथा बलात्कारसम्म गर्ने धम्की दिने किसिमका कमेन्टहरू आएको उनले उल्लेख गरेकी छन्। यस्ता गतिविधिले आफ्नो व्यक्तिगत सुरक्षा र मानसिक अवस्थामाथि गम्भीर असर पारेको उनको भनाइ छ।
पराजुलीले आफूमाथि आएका सबै अश्लील तथा धम्कीपूर्ण कमेन्ट र मेसेजहरू संकलन गरेर प्रमाणका रूपमा राखेकी थिइन्। सोही आधारमा दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै उनले उजुरी दिएको बताइएको छ।साइबर ब्यूरोले उक्त उजुरीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।