१८ चैत काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार (चैत १९) देखि देशभर सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञावलीका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ।परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। यस वर्ष कुल ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्। देशभर १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
बिहीबार (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञावलीले परीक्षाको तयारी पूरा भएको बताए । ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी सहभागी हुने यस परीक्षामा सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन्। काठमाडौंका १३५ परीक्षा केन्द्रबाट ४१ हजार १५५ जना विद्यार्थीले परीक्षा दिनेछन्। मनाङमा भने एउटा मात्र केन्द्रबाट ३७ जना विद्यार्थी सहभागी हुनेछन्।
जापानस्थित केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिने जानकारी दिइएको छ।यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८९५ विद्यार्थी पनि परीक्षामा सहभागी हुने भएका छन्। एकपटक असफल भएका विद्यार्थीलाई कम्तीमा तीनपटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको कार्यालयले जनाएको छ।बाल सुधारगृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर सुधारगृहमै परीक्षा सञ्चालन गरिनेछ।
विशेष क्षमता तथा अपांगता भएका विद्यार्थीका लागि पनि आवश्यक व्यवस्थापन गरिएको छ। उनीहरूलाई ३ घण्टाको परीक्षामा थप १ घण्टा ३० मिनेट समय दिइनेछ भने लेखन सहयोगीको व्यवस्था पनि गरिनेछ।परीक्षामा सहभागी विद्यार्थीलाई समयमै केन्द्रमा उपस्थित हुन, प्रवेशपत्र र आवश्यक सामग्री साथमा ल्याउन तथा मोबाइल लगायत निषेधित सामग्री नल्याउन आग्रह गरिएको छ।
एक महिनाभित्रै नतिजा
परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य राखेको छ। विगतमा जस्तो २–३ महिना कुर्नु नपर्ने भन्दै कार्यालयले छिटो नतिजा प्रकाशन गर्न विशेष तयारी गरिएको जनाएको छ।
यस वर्ष परीक्षा भएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरिनेछ। परीक्षा केन्द्रमै परीक्षक र संपरीक्षक परिचालन गरी उत्तरपुस्तिका जाँच गरेर प्राप्त अंक सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा पठाइनेछ। त्यसपछि ती इकाईहरूले निर्धारित समयमा परीक्षा नियन्त्रण कार्यालयमा विवरण पठाउने व्यवस्था गरिएको छ।कार्यालयका अनुसार यस व्यवस्थाले नतिजा प्रकाशन प्रक्रिया छिटो हुने र विद्यार्थीले कम्तीमा एक महिनाभित्रै आफ्नो परिणाम प्राप्त गर्न सक्नेछन्।