१९ चैत काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। दिउँसो २ बजे सिंहदरबारस्थित पुतली बगैंचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बैठक बस्ने तय भएको छ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रमुख ६ राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति दलहरूबीच भएको छ। समसामयिक राजनीतिक अवस्था, सरकारको भावी दिशा, आर्थिक चुनौती तथा जनचासोका विषयमा नेताहरूले धारणा राख्नेछन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बे ले सम्बोधन गर्नेछन्। कांग्रेसका सभापति गगन थापा लगायतका शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका तथा संसदीय दलको नेता चयन नभएकाले आङ्देम्बेलाई बोल्ने जिम्मेवारी दिइएको कांग्रेस स्रोतले जनाएको छ।
त्यस्तै, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही ले समेत बैठकलाई सम्बोधन गर्नेछन्। नयाँ संसद् गठनपछिको पहिलो बैठक भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ। बैठकमार्फत आगामी राजनीतिक दिशा, दलहरूबीचको सहकार्य र संसद्को प्राथमिकताबारे संकेत प्राप्त हुने अपेक्षा गरिएको छ।