२० चैत काठमाडौं । नेपाली हास्य टेलिसिरियल सक्किगोनीका कलाकार सागर लम्साल (बले) विरुद्ध यौन दुर्व्यवहारको गम्भीर आरोप सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत आफू बलात्कारको सिकार भएको दाबी गरेपछि यो प्रकरण चर्चामा आएको हो।
उक्त युवतीका बुवा सागर लम्सालका सहकर्मी रहेको र नेपाली चलचित्र क्षेत्रमा परिचित व्यक्तित्व भएको उल्लेख गरिएको छ। युवतीले आफ्नो लामो भावनात्मक स्टाटसमा एक वर्षअघिको घटना सार्वजनिक गर्दै आफू अत्यन्तै कमजोर मानसिक अवस्थाबाट गुज्रिरहेको बेला विश्वास गरेका व्यक्तिबाट नै दुर्व्यवहार भएको दाबी गरेकी छन्।
उनका अनुसार, अमेरिका पुगेको केही समयमै उनी डिप्रेसन र एन्जाइटीका कारण अस्पताल भर्ना हुनुपरेको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि आफन्तजस्तै चिनिएका व्यक्तिहरूसँग भेटघाट गर्ने क्रममा उक्त घटना घटेको उनको भनाइ छ।
“जसलाई मैले दाइ मानेकी थिएँ, उहाँ नै राक्षस हुनुहुन्थ्यो भन्ने थाहा थिएन,” भन्दै उनले आफ्नो अपार्टमेन्टमै आफू माथि जबरजस्ती भएको आरोप लगाएकी छन्। घटनापछि आफूले कसैलाई भन्न नसकेको, परिवार टुट्ने डरले पीडा लुकाएर बस्नुपरेको र त्यसले आफ्नो मानसिक अवस्था झन् बिग्रिएको पनि उनले उल्लेख गरेकी छन्।
पीडितले लेखेको स्टाटसमा आफूले न्याय नपाउने आशंका व्यक्त गर्दै पनि यस्तो घटना अरू कसैमाथि नदोहोरोस् भन्ने उद्देश्यले सार्वजनिक रूपमा बोल्न बाध्य भएको बताएकी छन्। अन्त्यमा उनले आरोपित व्यक्तिलाई लक्षित गर्दै “कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छरु” भन्ने प्रश्न समेत उठाएकी छन्।
यस विषयमा आरोपित कलाकार सागर लम्सालको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। साथै, सम्बन्धित निकायबाट पनि घटनाबारे औपचारिक अनुसन्धान सुरु भएको जानकारी सार्वजनिक भएको छैन।
गम्भीर प्रकृतिको आरोप सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। सरोकारवालाहरूले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्।