२९ चैत काठमाडौँ । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अघि सारेको देश बनाउने भिजनमा प्रश्न उठाउने कुनै ठाउँ नभएको बताएका छन्। सरकारले सार्वजनिक गरेको १०० वटा कार्यसूची आफूले गम्भीर रूपमा अध्ययन गरेको र अत्यन्त प्रभावकारी लागेको उनले बताएका हुन्।
नेम्वाङले प्रधानमन्त्री शाहको योजना देशको दीर्घकालीन विकास र सुशासन प्रवर्द्धनतर्फ केन्द्रित रहेको उल्लेख गर्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे। “मैले १०० कार्यसूची राम्रोसँग अध्ययन गरेको छु, यो साँच्चै मनपर्ने र कार्यान्वयनयोग्य देखिन्छ,” उनले भने।
उनले प्रतिपक्षी दलको सांसद भए पनि राष्ट्रहितका सवालमा दलगत सीमाभन्दा माथि उठ्नुपर्ने बताए। “देश बनाउने अभियानमा प्रतिपक्ष वा सत्तापक्ष भन्ने हुँदैन। राम्रो काममा सबैले साथ दिनुपर्छ,” नेम्वाङले स्पष्ट पारे।
उनका अनुसार प्रधानमन्त्री शाहले अघि सारेका योजना आर्थिक विकास, पूर्वाधार निर्माण, सुशासन र सेवा प्रवाह सुधारसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। यस्ता कार्यक्रमले देशलाई नयाँ दिशातर्फ लैजान सक्ने विश्वास उनले व्यक्त गरे।
नेम्वाङको यो अभिव्यक्तिले वर्तमान राजनीतिक परिवेशमा सहकार्य र सहमतिको आवश्यकता औंल्याएको छ। फरक राजनीतिक धारका नेताबीच पनि सकारात्मक पहलमा एकजुट हुन सकिने सन्देश उनको भनाइले दिएको छ।प्रधानमन्त्री शाहको कार्यसूची कार्यान्वयनमा अन्य दलहरूको समर्थन कति रहने भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।