२९ चैत काठमाडौं — गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। सार्वजनिक विवरणअनुसार उहाँको सम्पत्तिमा शेयर बजार लगानी, बैंक मौज्दात, जग्गाजमिन तथा सुनचाँदी प्रमुख रूपमा देखिएका छन्।
विवरणअनुसार, गृहमन्त्री गुरुङको शेयर बजारमा कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको छ। यो रकम उहाँको प्रमुख आर्थिक लगानीका रूपमा देखिएको छ।
जग्गाजमिनतर्फ, उहाँको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ। त्यस्तै, उहाँका पिता दिलबहादुर गुरुङ को नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको छ। विशेषगरी, उहाँका बाजे रामसल गुरुङ को नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी विशाल जग्गा रहेको विवरणमा जनाइएको छ।
बैंक मौज्दाततर्फ, लक्ष्मी सनराइज बैंक मा ५ लाख ३५ हजार रुपैयाँ, नबिल बैंक मा ५६ लाख २५ हजार रुपैयाँ तथा सानिमा बैंक मा १५ सय रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ।
यसैगरी, गृहमन्त्री गुरुङसँग ८९ तोला सुन रहेको र उक्त सुन पैत्रिक सम्पत्तिका रूपमा रहेको विवरणमा जनाइएको छ।सवारी साधनतर्फ, उहाँसँग लगुम प्रिमियर अपार्टमेन्टअन्तर्गत दर्ता गरिएको एक थान कार रहेको छ, जसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ।
सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता र सुशासनको महत्वपूर्ण अभ्यास मानिन्छ। गृहमन्त्री गुरुङद्वारा सार्वजनिक गरिएको यो विवरणले उहाँको आर्थिक स्थिति तथा पारिवारिक सम्पत्तिको स्पष्ट चित्र प्रस्तुत गरेको छ।