३० चैत काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारभित्र कार्यरत करारका कर्मचारी तथा काठमाडौँ उपत्यकाभित्र लामो समयदेखि कार्यरत कर्मचारीहरूको विस्तृत विवरण माग गरेको छ।
कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै आवश्यक विवरण यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको हो। प्राप्त जानकारीअनुसार काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न मन्त्रालय, सचिवालय, आयोग, निकाय तथा कार्यालयमा कार्यरत कर्मचारीहरूको तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले यो विवरण संकलन गर्न लागिएको हो।
प्रधानमन्त्री कार्यालयले पठाएको पत्रमा तोकिएको समयसीमाभित्रै विवरण बुझाउन निर्देशन दिइएको छ। पत्रअनुसार आज (२०८२ चैत ३० गते) दिउँसो ४ बजेभित्र सम्बन्धित निकायहरूले विवरण पठाइसक्नुपर्नेछ।
निर्देशनमा सिंहदरबारभित्र कार्यरत करार कर्मचारीहरूको नामावली, काठमाडौँ उपत्यकाभित्र ५ वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरूको विवरण तथा एउटै कार्यालयमा २ वर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरूको विवरण समावेश गर्न भनिएको छ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यस्तो विवरण संकलन प्रशासनिक व्यवस्थापन, जनशक्ति परिचालन तथा सरुवा व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारीका रूपमा लिइएको छ। यसले कर्मचारी व्यवस्थापनमा पारदर्शिता र कार्यक्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।