५ वैशाख काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा दोस्रो उपमेयर कप महिला भलिबल प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा गोरखा जिल्ला भित्रको विभिन्न स्थानीय तह सहित धादिङ जिल्लाको निलकण्ठ नगरपालिका महिला भलिबल टोलीहरूबीच उत्साहजनक तथा प्रतिस्पर्धात्मक खेल प्रदर्शन भएको थियो, जसले खेलप्रेमी दर्शकहरूको राम्रो साथ र समर्थन पाएको थियो।
उक्त प्रतियोगिताको उपाधि धादिङको निलकण्ठ नगरपालिकाले जित्दै प्रथम स्थान हासिल गरेको छ। फाइनल खेलमा सशक्त प्रदर्शन गर्दै निलकण्ठले आफ्नो उत्कृष्ट खेलकौशल प्रस्तुत गरेको थियो। त्यस्तै, कडा प्रतिस्पर्धा दिएको शहीद लखन गाउँपालिकाले दोस्रो स्थान हासिल गर्दै उपविजेता बन्न सफल भयो।
यसैगरी, बारपाकबाट सहभागी सुलिकोट गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ भने आरुघाट गाउँपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको छ। सबै टोलीहरूले खेल अवधिभर उच्चस्तरीय प्रदर्शन गर्दै महिला भलिबलको स्तरलाई थप उचाइमा पुर्याउने प्रयास गरेका थिए।
आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय तहमा महिला खेलकुदको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाहरूको पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता प्रतियोगिताले महिला खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै खेलप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ।

