१० वैशाख काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ को पुनर्बहाली नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइएको छ। आन्दोलनका अगुवा रविमान डंगोल ले गृहमन्त्रीलाई पुनः जिम्मेवारीमा फर्काउन माग गर्दै निरन्तर प्रदर्शन जारी रहने बताएका हुन्।
डंगोलले गृहमन्त्रीको बहिर्गमनलाई “Gen Z आन्दोलनका घाइते तथा सहिदहरूको बलिदानमाथि अन्याय” भएको दाबी गरेका छन्। “जबसम्म गृहमन्त्रीको पद फेरि फिर्ता हुँदैन, तबसम्म हामी निरन्तर प्रदर्शन गरिरहन्छौँ। उहाँ निस्किनु भनेको जेन्जी घाइते सहिदहरूको बलिदान खेर जानु हो,” उनले भने।
उनले देशलाई आवश्यक पर्ने नेतृत्व अहिलेको अवस्थामा पनि त्यही रहेको उल्लेख गर्दै गृहमन्त्रीले गरेको कामप्रति समर्थन जनाएका छन्। “यसरी रातदिन खटिने गृहमन्त्री हामीलाई फेरि चाहिन्छ,” डंगोलको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
गुरुङको राजीनामापछि देशको राजनीतिक माहोल तातेको छ भने विभिन्न समूहहरूबाट पक्ष–विपक्षमा प्रतिक्रिया आउने क्रम जारी छ। गृहमन्त्रीको पुनर्बहालीको माग गर्दै हुने प्रदर्शनले आगामी दिनमा थप राजनीतिक दबाब सिर्जना गर्ने देखिएको छ।