१० वैशाख काठमाडौं। त्रिभुवन विश्वविद्यालय मा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूले आफ्नो निवृत्तिभरण (पेन्सन) को सुनिश्चितता माग गर्दै अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका छन्। विश्वविद्यालय परिसरमा भेला भएका उनीहरूले सरकारले स्पष्ट नीति तथा कानुनी व्यवस्था नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
धर्नामा सहभागी प्राध्यापक तथा कर्मचारीहरूले विगत लामो समयदेखि पेन्सन सम्बन्धी अन्योल कायम रहेको, सेवा अवधिपछि आफ्नो भविष्य असुरक्षित बनेको भन्दै गुनासो व्यक्त गरेका छन्। उनीहरूले “हामीले जीवनभर शिक्षा क्षेत्रमा सेवा गर्यौं, तर अवकाशपछि आधारभूत अधिकारबाट वञ्चित हुनु अन्याय हो” भन्ने नारासहित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल गेट अघि आज आठौँ दनि सम्म धर्ना बसि रहेका छन् ।
धर्ना बसेका प्राध्यापक–कर्मचारीहरु सरकार तथा विश्वविद्यालय प्रशासनसँग तत्काल वार्ता गरी पेन्सन सुनिश्चित गर्ने ठोस निर्णय सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूका अनुसार, स्पष्ट कानुनी प्रावधान र बजेट सुनिश्चित नभएसम्म धर्ना नरोकिने बताए ।
यता विश्वविद्यालय प्रशासनले समस्या समाधानका लागि पहल भइरहेको जनाए पनि अहिलेसम्म ठोस सहमति भने हुन सकेको छैन। सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको प्रशासनको भनाइ छ।
धर्ना कार्यक्रमका कारण विश्वविद्यालयको नियमित प्रशासनिक तथा शैक्षिक गतिविधि प्रभावित हुने सम्भावना देखिएको छ। विद्यार्थीहरू समेत यस अवस्थाले पठनपाठनमा असर पार्ने चिन्ता व्यक्त गरिरहेका छन्।धर्ना पक्षले छिटो समाधान नभए थप कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
