१३ वैशाख काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका बारपाकमा भूकम्प २०७२ साल को सम्झनामा बारपाकमा ११औँ भूकम्प स्मृति दिवस विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टको अध्यक्षता तथा गोरखा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य कबिन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रमको प्रारम्भ गाउँपालिका उपाध्यक्षले स्वागत मन्तव्यबाट गरिएको थियो।
कार्यक्रमका क्रममा भूकम्प गएको समय ठीक ११:५६ बजे १ मिनेट मौन धारण गरी दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित सबैले २०७२ सालको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।
कार्यक्रमकै अवसरमा बारपाक सुलिकोट वडा नं.१ र २ को तर्फबाट वडा नं.२ का अध्यक्ष पूर्ण बहादुर गुरुङले प्रमुख अतिथिसमक्ष संयुक्त रूपमा ध्यानाकर्षण पत्र पेश गर्नुभएको थियो। उक्त ज्ञापन पत्रमा बारपाकलाई ‘हिल सिटी’को रूपमा विकास गर्ने लक्ष्यसहित रक गार्डेन र मृग पार्क निर्माण, गाउँभित्रका सडकहरूमा स्टोन पिचिङ गरी क्षेत्रलाई थप आकर्षक र व्यवस्थित बनाउने तथा स्वच्छ खानेपानी व्यवस्थापन जस्ता महत्वपूर्ण योजनाहरू समेटिएका छन्।ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख अतिथि माननीय कबिन्द्र बुर्लाकोटीले प्रस्तुत योजनाहरू कार्यान्वयनका लागि आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष श्री विष्णु प्रसाद भट्टले भूकम्प तथा अन्य विपद् सम्बन्धी सचेतना अभिवृद्धिमा गाउँपालिकाले विशेष ध्यान दिने बताउनुभयो। उहाँले बारपाक ढल निकास आयोजनाको गुणस्तरीय सम्पन्नता, हुँडिफाँट–सौरपानी सडक तथा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत रहेको ‘घ्याम्पेशाल–ताकुकोट–हुँडिखोला–स्वाँरा–भण्डारी गाउँ–रञ्चोक–पोखरी–बारपाक सडक’ निर्माण कार्यलाई तीव्रता दिने योजना रहेको जानकारी दिनुभयो।
त्यसैगरी, हुँडिखोलामा पुल निर्माण प्रक्रिया अगाडि बढाउन संघीय सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक बजेट विनियोजन तथा शीघ्र कार्यान्वयनको पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। बारपाक सुलिकोट गाउँपालिकालाई आधुनिक,सुरक्षित तथा समृद्ध बनाउने दिशामा निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि संघ सरकारसँग प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।






