१४ वैशाख काठमाडौँ । गोरखामा आज मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म गण्डकी प्रदेशस्तरीय म्याराथन दौड प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा भएको उक्त प्रतियोगिताले खेलकुद प्रवर्द्धनसँगै पर्यटन प्रवाह बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
प्रतियोगिता प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर बाट सुरु भई ऐतिहासिक गोरखा दरबार मा पुगेर सम्पन्न हुने छ। कठिन भौगोलिक बनावट र उकालो–ओरालो बाटो पार गर्दै धावकहरूले आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका धावकहरूको उल्लेख्य सहभागिता रहेको छ। यस प्रकारका प्रतियोगिताले युवाहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
स्थानीय तहका प्रतिनिधिहरूले म्याराथनमार्फत गोरखाका धार्मिक तथा ऐतिहासिक स्थलहरूको प्रचार–प्रसारमा टेवा पुग्ने बताएका छन्। साथै, यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।प्रतियोगिताको विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ भने दौड सम्पन्न भएपछि समापन कार्यक्रमसमेत आयोजना गरिनेछ।