१६ वैशाख काठमाडौँ । अस्ट्रेलियामा आफ्नै छोरालाई क्यान्सर भएको झुटो नाटक गरी चन्दा संकलन गरेर विलासी जीवन बिताउने एक महिलालाई अदालतले चार वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ।दक्षिण अस्ट्रेलियाकी ४५ वर्षीया ती महिलाले छोराको टाउको र आँखीभौं खौरिदिएर, टाउको तथा हातमा पट्टी बाँधेर बिरामी जस्तो देखाउने प्रयास गरेकी थिइन्। उनले परिवार, साथीभाइ र स्थानीय समुदायलाई झुक्याउँदै हजारौं डलर चन्दा उठाएकी थिइन्।नाम गोप्य राखिएकी ती महिला छोरालाई हानि पुर्याएको एक र ठगीसम्बन्धी १० वटा अभियोगमा दोषी ठहर भएकी हुन्।
बुधबार भएको सजाय सुनुवाइमा जिल्ला अदालतका न्यायाधीशले उनको कार्यलाई ‘क्रूर’ र ‘पूर्वनियोजित’ भन्दै कडा टिप्पणी गरेका थिए।अदालतका अनुसार, छोरालाई सामान्य दुर्घटनापछि आँखा जाँचका लागि चिकित्सककहाँ लगिएपछि उनले झुटको सिलसिला सुरु गरेकी थिइन्। त्यसपछि उनले श्रीमान्, आफन्त र विद्यालय समुदायलाई छोरालाई आँखाको क्यान्सर भएको भन्दै गलत सूचना दिएकी थिइन्।विश्वास दिलाउन उनले छोरालाई ह्वीलचेयरमा राखेर दैनिक गतिविधि सीमित गराइन्।
साथै, छोरालाई विभिन्न औषधि र पूरक पदार्थहरू पनि दिइएको बताइएको छ।अभियोजन पक्षका अनुसार, महिलाले आफ्नो स्वार्थ पूरा गर्न छोरालाई प्रयोग गर्दै परिवार र समुदायलाई ठगी गरेकी थिइन्। संकलित रकमबाट उनले विलासी जीवन बिताएको उल्लेख BBC मा प्रकाशित समाचारमा गरिएको छ।यता, महिलातर्फका वकिलले भने कोभिड–१९ पछि उनलाई जुवा खेल्ने लत लागेको र आर्थिक दबाबका कारण यस्तो कदम चाल्न बाध्य भएको दाबी गरेका छन्।
उनका अनुसार, उनको उद्देश्य परिवारलाई क्षति पुर्याउने नभई आर्थिक संकटबाट बाहिर निस्कनु थियो।वकिलले अदालतमा ती महिलामा ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ रहेको र उनले आफ्नो गल्ती स्वीकार गरिसकेको पनि बताएका थिए। प्रारम्भमा उनका पतिमाथि पनि आरोप लगाइएको भए पनि पछि प्रहरीले मुद्दा खारेज गरेको थियो।बयानका क्रममा उनका श्रीमानले श्रीमतीको उक्त कार्यले परिवार नै बर्बाद भएको बताएका थिए।