१७ वैशाख काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले हालै सरकारी डोजर परिचालन गरिएको सुकुम्बासी बस्तीको स्थलगत अवलोकन गर्दै समस्या समाधानका नाममा अपनाइएका उपायहरूलाई व्यवस्थित पुनःस्थापनासँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।बस्ती क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राज्यले गरिब तथा श्रमिक वर्गको दीर्घकालीन समाधानका लागि पहल गरिरहेको विश्वास व्यक्त गरे।
“राम्रो उद्देश्यले गरिएका कामलाई समर्थन गर्नुपर्छ, तर कमजोरी देखिए त्यसलाई सच्याउन सुझाव दिनु पनि आवश्यक हुन्छ,” उनले भने।उनका अनुसार सुकुम्बासी समस्या केवल बस्ती हटाउने विषय मात्र नभई वैज्ञानिक योजना र दीर्घकालीन पुनःस्थापनासँग सम्बन्धित विषय हो। वास्तविक भूमिहीन नागरिक र अनधिकृत रूपमा जग्गा कब्जा गर्ने प्रवृत्तिबीच स्पष्ट भिन्नता छुट्याएर मात्र समाधान खोज्नुपर्ने उनले बताए।भट्टराईले विगतमा गरिएका सर्वेक्षण तथा तथ्यांकलाई आधार मानेर व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
राज्यको भूमिका दण्डात्मकभन्दा पनि योजनाबद्ध र मानवीय हुनुपर्ने उनको धारणा छ।यसैक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको कार्यशैलीबारे टिप्पणी गर्दै इन्जिनियरिङ पृष्ठभूमिका कारण निर्णयहरू योजनाबद्ध ढंगले गरिएको हुन सक्ने विश्वास व्यक्त गरे।सरकारले हाल नदीकिनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान तीव्र बनाइरहेका बेला भट्टराईको यस्तो धारणा आएको हो। उनले दीर्घकालीन समाधानका लागि समन्वित नीति, स्पष्ट तथ्यांक र पुनःस्थापनाको सुनिश्चितता अपरिहार्य रहेको उल्लेख गरे।