२० वैशाख काठमाडौँ । काठमाडौँका पूर्व मेयर बालेन शाह नेतृत्वमा खोला किनारमा रहेका सुकुम्वासी बस्ती हटाइएको विरोधमा सुनसरीको धरान मा प्रदर्शन गरिएको छ।प्रदर्शनकारीहरू छाता चोक मा भेला भई धरान बजार परिक्रमा गरेका थिए।
नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समिति को अगुवाइमा भएको उक्त प्रदर्शनमा ठूलो संख्यामा सुकुम्वासीहरूको सहभागिता रहेको थियो।प्रदर्शनका क्रममा सहभागीहरूले काठमाडौँमा गरिएको बस्ती हटाउने कार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई अन्यायपूर्ण र एकपक्षीय कदम भएको आरोप लगाए।
उनीहरूले सुकुम्वासीहरूको वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउनु मानवअधिकार विपरीत भएको बताएका छन्।प्रदर्शनकारीहरूले “बस्ती भत्काउने कार्य बन्द गर”, “सुकुम्वासीलाई उचित व्यवस्था गर” जस्ता नाराबाजी गर्दै सरकारको कदमको विरोध गरेका थिए।
उनीहरूले सुकुम्वासीहरूको अधिकार सुनिश्चित गर्न तथा पुनःस्थापनाको ठोस योजना ल्याउन माग गरेका छन्।आयोजक संस्थाहरूले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिएका छन्। साथै, बल प्रयोग गरेर बस्ती हटाउने कार्य तत्काल रोक्न चेतावनी समेत दिएका छन्।