२० वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई सुकुम्बासीको दुस्खद् मृत्युको घटनामा तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। अनुसन्धान प्रक्रिया जारी रहेकाले अहिल्यै कुनै निष्कर्षमा पुगेर बोल्न उपयुक्त नहुने उनको भनाइ छ।
आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “पहिले अनुसन्धानको रिपोर्ट हेरौं। सञ्चारमाध्यममा आएको आधारमा मात्रै बोल्नु उचित हुँदैन।” घटनाबारे पूर्ण विवरण नआएसम्म धारणा सार्वजनिक गर्दा गलत सन्देश जान सक्ने उनले संकेत गरे।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र सरकार मिलेर देशका कुनै पनि नागरिक घरबारविहीन नहुने सुनिश्चित गर्न प्रतिबद्ध रहेको दावी गरे। सुकुम्बासी व्यवस्थापनका क्रममा मानवीय पक्षलाई प्राथमिकतामा राखिने उनले बताए।
यद्यपि, बस्ती खाली गर्ने क्रममा प्रक्रियागत रूपमा केही कमजोरी भएको हुनसक्ने उनले स्वीकार गरे। “हामी यसको समाधानका लागि काम गरिरहेका छौं। प्रक्रियामा तलमाथि भएको हुनसक्छ। योभन्दा राम्रो तरिकाले पनि गर्न सकिन्थ्यो होला,” उनले भने।
उनले थपे, “देशको कोही पनि नागरिक घरबारविहीन हुनुहुने छैन। केही समयका लागि दुस्ख हुन सक्छ, तर दीर्घकालीन रूपमा समाधान निकालिन्छ।”
उक्त घटनापछि सुकुम्बासी व्यवस्थापन, पुनर्स्थापना र सरकारी कदमप्रति विभिन्न कोणबाट प्रश्न उठिरहेका छन्। यसबीच, सम्बन्धित निकायले अनुसन्धान अघि बढाइरहेको र त्यसको निष्कर्षपछि थप निर्णयहरू लिइने अपेक्षा गरिएको छ।