२१ वैशाख काठमाडौं । सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र बनाएसँगै कवाड संकलन गर्ने व्यवसायी र मजदुरका लागि भने यो समय ‘दशैँ’ जस्तै बनेको छ। विभिन्न स्थानमा डोजर लगाएर संरचना भत्काइएपछि फलाम, टिन, काठलगायत पुनः प्रयोग गर्न मिल्ने सामग्री ठूलो मात्रामा बाहिरिन थालेको छ।
काठमाडौं उपत्यका का विभिन्न खोला किनार तथा सार्वजनिक जग्गामा बनेका बस्ती भत्काउने क्रममा निस्किएका सामग्री कवाड व्यवसायीले संकलन गरी बजारमा बिक्री गर्न थालेका छन्। यसले उनीहरूको दैनिक आम्दानीमा उल्लेख्य वृद्धि भएको बताइन्छ।
स्थानीय कवाड संकलकहरूका अनुसार पहिलेभन्दा धेरै सामग्री एकैपटक उपलब्ध हुन थालेपछि काम र कमाइ दुवै बढेको छ। “अहिले त दिनभरि काम गर्न भ्याइनभ्याइ छ, कमाइ पनि राम्रो भइरहेको छ,” एक संकलकले बताए।तर अर्कोतर्फ बस्ती भत्किँदा प्रभावित परिवारहरू भने ठूलो समस्यामा परेका छन्। वैकल्पिक व्यवस्था बिना घर भत्काइँदा धेरैजना खुला आकाशमुनि बस्न बाध्य भएका छन्। दैनिक जीविकोपार्जन र बालबालिकाको पढाइमा समेत असर परेको स्थानीयको गुनासो छ।
मानव अधिकारकर्मीहरूले व्यवस्थापनको स्पष्ट योजना बिना बस्ती हटाउँदा सामाजिक तथा मानवीय संकट गहिरिने चेतावनी दिएका छन्। उनीहरूले वास्तविक भूमिहीनको पहिचान, पुनःस्थापना र आधारभूत सेवाको सुनिश्चिततासहित मात्रै यस्ता अभियान अघि बढाउनुपर्नेमा जोड दिएका छन्।यसरी एकातिर बस्ती भत्किँदा प्रभावित समुदाय संकटमा परिरहेका बेला अर्कोतर्फ त्यसबाट निस्किएको कवाड सामग्रीले केही वर्गलाई भने अस्थायी आर्थिक अवसर दिएको देखिएको छ।