२२ वैशाख काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्कमा सोमबार जातीय विभेद र त्यसको निराकरणका विषयमा अन्तरपुस्ता बहस सम्पन्न भएको छ। “हाम्रो साहस”को आयोजनामा तथा दलित चेतना विकास परिषद्को साझेदारीमा भएको छलफलमा समुदायमा जातका आधारमा हुने विभेद घटेको कि बढेको भन्ने विषयमा गम्भीर बहस भएको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले गाउँ–गाउँमा जातीय विभेदको अवस्था फरक–फरक रहेको धारणा राखे। केही वक्ताहरूले पहिलेको तुलनामा विभेद घट्दै गएको बताए भने कतिपयले संविधान र कानुनले निषेध गरे पनि व्यवहारमा अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।
सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले पछिल्लो समय जातीय विभेद पहिलेको तुलनामा उल्लेख्य रूपमा घट्दै गएको बताए। उनका अनुसार नगरपालिकाले समुदायस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। “यदि जातीय विभेदको अन्त्य हामी आफैँबाट सुरु गर्यौं भने विद्यालय, घर र समुदायमा समानताको वातावरण बन्न सक्छ,” उनले बताए।
वडा नं. १० का वडाध्यक्ष मोहनसिंह ठकुरीले परिवर्तन घरभित्रबाट सुरु हुनुपर्नेमा जोड दिए। विशेषगरी महिलाहरू सचेत भएमा दलित र गैरदलितबीचको विभाजन क्रमशः अन्त्य हुँदै जाने उनको भनाइ थियो।
इन्सेकका प्रतिनिधि कुलबहादुर नेपालीले जिल्लामा अझै पनि जातीय विभेदसम्बन्धी मुद्दा दर्ता भइरहेकाले यसको पूर्ण अन्त्यका लागि समावेशी र निरन्तर प्रयास आवश्यक रहेको बताए। सबै समुदायको अधिकार सुनिश्चित गर्दै कसैलाई पनि बञ्चित हुन नदिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमको सहजीकरण पत्रकार तथा अभियन्ता राधा नेपालीले गरेकी थिइन्। उनले “साहस अन्तरपुस्ता कार्यक्रम” मार्फत जेन–जीदेखि ज्येष्ठ नागरिकसम्मको सहभागिताले समुदायको वास्तविक अवस्था बुझ्न सहज भएको बताइन्। उनका अनुसार कार्यक्रम भुमिकास्थान नगरपालिका–३ र ४ तथा सन्धिखर्क नगरपालिका–२ र १० मा सञ्चालन भइरहेको छ।
कार्यक्रममा ठाकुर अधिकारी, गोविन्द सुनार, शिवनाथ श्रेष्ठ, लेखनाथ भुसाल, कमल पोखरेल, दिपक भुसाल लगायत सहभागीहरूले आजको युगमा पनि जातीय विभेद कायम रहनु दुःखद भएको भन्दै यसको अन्त्यका लागि राज्यले अग्रणी भूमिका खेल्नुपर्ने माग गरेका थिए।