२२ वैशाख काठमाडौँ । भक्तपुर, सानोठिमीबाट लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका दुई स्कुटर चालकलाई ट्राफिक प्रहरीले सानोठिमी क्षेत्रबाट पक्राउ गरेको छ। २०८३ वैशाख २० गते गरिएको नियमित तथा कडा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त अपरेसनमा गरिएको परीक्षणका क्रममा दुवै चालकले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको हो।
ट्राफिक प्रहरीका अनुसार नशाको अवस्थामा सवारी चलाउनु सडक सुरक्षा नियमको गम्भीर उल्लंघन मात्र नभई अन्य सडक प्रयोगकर्ताको जीवनमाथि प्रत्यक्ष खतरा पुर्याउने कार्य हो। पक्राउ परेका दुवै जनालाई थप कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ।प्रहरीले यस्ता घटनाले सडक सुरक्षामाथि चुनौती थपिएको भन्दै लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्तिप्रति शून्य सहनशीलता अपनाइने जनाएको छ।
सुरक्षा निकायले नागरिकहरूलाई यस्ता गैरकानुनी तथा जोखिमपूर्ण गतिविधि देखेमा नजिकको प्रहरी कार्यालय वा हटलाइन नम्बर १०० वा १०३ मा सूचना दिन आग्रह गरेको छ। प्रहरीका अनुसार सडकलाई सुरक्षित बनाउने जिम्मेवारी सबैको भएकाले कुनै पनि अवस्थामा लापरवाही सह्य नहुने स्पष्ट पारिएको छ।