२२ वैशाख काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले आफ्नो पदबाट औपचारिक रुपमा बिदा लिएको घोषणा गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत उनले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल समाप्त भएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा शेर्पाले आफू पदबाट अलग भए पनि समाज र परिवर्तनप्रतिको आफ्नो जिम्मेवारी कहिल्यै समाप्त नहुने उल्लेख गरेका छन्। उनले संगठनको नेतृत्व सम्हाल्दा पाएको मुख्य जिम्मेवारी—नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्ने—कार्य पूरा गर्न नसकेकोमा गहिरो आत्मालोचना गरेका छन्।
“१२ औं महाधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी मेरो काँधमा थियो, तर त्यसलाई पूरा गर्न नसक्नु जीवनभर खड्किरहने छ,” उनले भनेका छन्।
आफ्नो कार्यकालमा भएको उक्त असफलताको सम्पूर्ण जिम्मेवारी आफूले नै लिने स्पष्ट पार्दै उनले कुनै बहाना वा दोषारोपण नगर्ने बताएका छन्। “आज कुनै बहाना वा दोषारोपण नगरी यस असफलताको सम्पूर्ण जिम्मेवारी म स्वयं स्वीकार गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।शेर्पाको पदत्यागसँगै नेविसंघको आगामी नेतृत्व र महाधिवेशन प्रक्रिया कसरी अगाडि बढ्ने भन्ने विषयमा चासो बढेको छ।

