२३ वैशाख काठमडौँ । काठमाडौंको भेडासिंहस्थित एक चाँदी पसलमा पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १७ गते भेडासिंह मा रहेको “नैना एन्ड इशान ज्वेलरी” पसलमा प्रवेश गरी लुट्न खोज्ने समूहलाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–६ इमाडोलका हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेल रहेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार मुख्य आरोपी हरिकृष्ण महर्जनलाई मंगलबार इमाडोलबाट पक्राउ गरिएको हो। अन्य दुई आरोपी राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौँ को टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार आरोपी अरुण भुजेल को साथबाट घटनामा प्रयोग गरिएको पेस्तोल समेत बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई ले सो जानकारी दिएका हुन्।
अनुसन्धानका क्रममा मुख्य योजनाकार मानिएका महर्जनले वारदातको समयमा लगाएको कपडा घटनास्थल नजिकैको गल्लीमा फालेर हुलिया परिवर्तन गरेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो समय बढ्दो लुटपाटका घटनालाई नियन्त्रण गर्न निगरानी तथा सुरक्षा व्यवस्था कडा पारिएको पनि जनाएको छ।