२५ वैशाख काठमाडौं । हर्क साम्पाङ ले प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसप्रति असन्तुष्टि जनाएका छन्।श्रम संस्कृति पार्टी का अध्यक्ष साम्पाङले वरीयता मिचेर प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै त्यसको विरोध गरेका हुन्। उनले न्यायपालिकाजस्तो संवेदनशील संस्थामा स्थापित परम्परा र वरिष्ठताको अभ्यासलाई बेवास्ता गर्नु गम्भीर विषय भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले यस्तो निर्णयले न्यायालयप्रतिको जनविश्वास कमजोर बन्न सक्ने चेतावनी दिएका छन्। उनले सरकारको पछिल्लो कदमलाई “ठूलो असफलता” को संज्ञा दिँदै न्याय प्रणालीमाथि अनावश्यक विवाद सिर्जना भएको टिप्पणी गरेका छन्।
बिहीबार बसेको संवैधानिक परिषद् को बैठकले डा। मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिस गरेपछि विभिन्न राजनीतिक दल, कानुन व्यवसायी तथा नागरिक तहबाट प्रतिक्रिया आउने क्रम जारी छ।
यसअघि नेपाल बार एसोसिएसन ले समेत सिफारिस प्रक्रियाबारे धारणा बनाउन आकस्मिक बैठक बोलाएको थियो। प्रधान न्यायाधीश नियुक्तिमा वरीयता, संवैधानिक प्रक्रिया र न्यायपालिकाको स्वतन्त्रतामाथि अहिले व्यापक बहस भइरहेको छ।