२६ वैशाख काठमाडौँ । काठमाडौं । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ । उपभोक्ताको अधिकार संरक्षण गर्दै बजारलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन अभियान सुरु गर्न लागिएको जनाइएको छ ।
सरकारका अनुसार अभियान अवधिभर दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, तौल तथा बिलिङ प्रणालीको विशेष अनुगमन गरिनेछ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अत्यधिक मूल्य असुल्ने तथा म्याद गुज्रिएका वस्तु बिक्री गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
अभियानअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा सम्बन्धित निकायहरूको संयुक्त टोलीले देशका प्रमुख बजार क्षेत्रमा अनुगमन गर्नेछन् । व्यवसायीलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, बिल उपलब्ध गराउन तथा उपभोक्तामैत्री व्यवहार अपनाउन निर्देशन दिइने बताइएको छ ।
सरकारले उपभोक्तालाई पनि कुनै प्रकारको ठगी, कालोबजारी वा अस्वाभाविक मूल्यवृद्धि देखिएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ । अभियानले बजारमा अनुशासन कायम हुनुका साथै उपभोक्तामा विश्वास बढ्ने अपेक्षा गरिएको छ ।
सरकारले “सही मूल्य, पारदर्शी बजार र सुरक्षित उपभोक्ता” भन्ने नारासहित अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।