२९ वैशाख काठमाडौँ । पुर्व सञ्चारमन्त्री जगदीश खरेलले आफूमाथि आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गरिएको आरोप लगाउँदै राजधानी दैनिक नामक पत्रिका विरुद्ध प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन्। उनले भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध समेत कानुनी प्रक्रिया अघि बढाएको बताएका छन्।
पुर्व सञ्चारमन्त्री खरेलले आज एक वक्तव्य जारी गर्दै आफूमाथि झुटा र भ्रामक समाचार सम्प्रेषण गरिएको दाबी गर्दै यस्ता गतिविधिले व्यक्तिगत प्रतिष्ठा र स्वाभिमानमा गम्भीर असर पुर्याएको बताएका छन्। उनले प्रकाशित सामग्रीलाई आधारहीन, कपोलकल्पित तथा तथ्यहीन भन्दै सम्बन्धित निकायमार्फत न्याय खोजिएको उल्लेख गरेका छन्।उनले भने, “आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गर्ने राजधानी दैनिक नामक पत्रिका विरुद्ध आजै प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छु। भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि मैले उजुरी दिएको छु।”
मन्त्री खरेलले न्याय पाउनेमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै सम्बन्धित पत्रिकालाई सार्वजनिक रूपमा माफी माग्न तथा आफ्नो खण्डनलाई अघिल्लो समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्न माग गरेका छन्।उनका अनुसार, “यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ। मिडियाको आवरणमा हुने यस्ता गैरजिम्मेवार गतिविधिले समग्र व्यावसायिक पत्रकारिताको छविमा समेत असर पार्ने भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”
साथै, उनले आफू स्वतन्त्र र व्यावसायिक पत्रकारिताको पक्षधर रहेको उल्लेख गर्दै आफ्नो पृष्ठभूमि र आधारसमेत पत्रकारितासँग जोडिएको बताएका छन्। “म स्वतन्त्र र व्यावसायिक पत्रकारिताको पक्षधर हुँ, र मेरो जग पनि यही हो,” मन्त्री खरेलले बताएका छन्।यस घटनापछि सञ्चार क्षेत्र तथा राजनीतिक वृत्तमा अभिव्यक्ति स्वतन्त्रता, जिम्मेवार पत्रकारिता र तथ्यमा आधारित समाचार सम्प्रेषणको विषय पुनः बहसको केन्द्रमा आएको छ।


