३० वैशाख काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभई जनताका प्रश्नको जवाफ दिनका लागि बोलाइएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै संसद्प्रति जिम्मेवार बन्न आग्रह गरे।
‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्याप हान्न बोलाएको होइन नि,’ उनले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो।’शाहीले संसद्मा उठेका विषयमा प्रधानमन्त्रीले स्पष्ट धारणा राख्नुपर्ने र जनताका चासोका विषयमा उत्तरदायी बन्नुपर्ने बताए। उनले संसद् लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण थलो भएकाले सरकार प्रमुखले सदनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा अनुपस्थित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले बैठक अवरोध गरेको प्रसङ्ग पनि उनले स्मरण गरे। अहिलेको अवस्थामा भने त्यही विषयमा फरक व्यवहार देखिएको उनको संकेत थियो।
प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्रीको उपस्थितिलगायत विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच बहस चर्किएको छ। विपक्षी दलहरूले संसद्मा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै आएका छन्।