१ जेष्ठ काठमाडौँ । सरकारले चैत १३ गतेदेखि हालसम्म देशभरका ३६८ वटा सरकारी कार्यालयमा गरेको अनुगमनका क्रममा अनुशासनहीन गतिविधिमा संलग्न ३ हजार ५७६ जना कर्मचारी कारबाहीमा परेका छन्।
सरकारी कार्यालयहरूमा सेवाप्रवाह प्रभावकारी बनाउने तथा कर्मचारीको नियमितता र जिम्मेवारी बढाउने उद्देश्यले गरिएको अनुगमनका क्रममा समयमा कार्यालयमा उपस्थित नहुने, तोकिएको पोसाक नलगाउने, कार्यालय समयको पालना नगर्ने तथा कार्यशैलीमा लापरवाही देखाउने कर्मचारीहरू कारबाहीमा परेको जनाइएको छ।
अनुगमन टोलीले विभिन्न मन्त्रालय, विभाग तथा मातहतका सरकारी कार्यालयहरूमा आकस्मिक निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा कतिपय कर्मचारी कार्यालय समयमा अनुपस्थित भेटिएका थिए भने केहीले तोकिएको पोसाकसमेत प्रयोग नगरेको पाइएको थियो।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ। जिम्मेवारीप्रति लापरवाही गर्ने कर्मचारीमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही गरिने पनि सम्बन्धित निकायले स्पष्ट पारेको छ।
सरकारको पछिल्लो कदमलाई सरकारी सेवा प्रणालीमा अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ। यद्यपि कर्मचारी संगठनहरूले भने कारबाहीसँगै कार्यसम्पादन सुधारका लागि आवश्यक वातावरण र सुविधा पनि सुनिश्चित गरिनुपर्ने धारणा राख्दै आएका छन्।