३ जेष्ठ काठमाडौँ । दैलेख जिल्लाको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई “प्रधानमन्त्री कार्यालयबाट बोल्दैछु” भन्दै ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएको छ। घटनामा प्रकाश खडका नाम गरेका व्यक्ति संलग्न रहेको आरोप लगाइएको छ।
सार्वजनिक अडियोअनुसार, एउटा मन्दिर निर्माणका लागि वडाबाट सिफारिस गरिदिन भन्दै वडा सचिव भण्डारीलाई फोन गरिएको थियो। तर वडा सचिव भण्डारीले प्रक्रिया तथा पालो ९लाइन० अनुसार काम हुने भन्दै तत्काल सिफारिस दिन नसकिने जवाफ दिएका थिए।
वडा सचिव भण्डारीले “लाइन अनुसार काम हुन्छ, तपाईंले भन्दैमा तुरुन्त सम्भव हुँदैन” भनेपछि फोन गर्ने व्यक्तिले आफू “प्रधानमन्त्री कार्यालयबाट बोलिरहेको” दाबी गर्दै धम्कीपूर्ण शैलीमा कुरा गरेको आरोप छ। अडियोमा ती व्यक्तिले वडा सचिवलाई अपशब्द प्रयोग गर्नुका साथै “म आएर तँलाई देखाइदिन्छु”, “तँलाई जानेको छु” जस्ता धम्की दिएको सुनिएको बताइएको छ।
स्थानीय स्रोतका अनुसार, उक्त अडियो बाहिरिएपछि घटनाले दैलेखमा चर्चा पाएको छ। सार्वजनिक पदमा रहेका कर्मचारीलाई धम्की दिने र सरकारी प्रक्रियामा दबाब सिर्जना गर्ने प्रयास भएको भन्दै स्थानीय तहमा चिन्ता व्यक्त गरिएको छ।
यस विषयमा वडा सचिव कमल भण्डारीले आफूले नियम र प्रक्रिया अनुसार काम गर्न खोज्दा धम्की सामना गर्नुपरेको बताएका छन्। घटनाबारे सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग समेत उठ्न थालेको छ।उक्त अडियोको सत्यता र धम्की दिने व्यक्तिको भूमिकाबारे थप अनुसन्धान आवश्यक रहेको सरोकारवालाले बताएका छन्। यदि अडियो प्रमाणिक ठहरिए कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने देखिन्छ।