५ जेष्ठ काठमाडौँ । गोरखामा अनलाइन ठगी प्रकरणमा लक्ष्मण लामिछाने पक्राउ परेका छन्। गोरखा भिमसेनथापा गाउँपालिका–२ का वडा सदस्य रहेका लामिछानेमाथि अनलाइन माध्यमबाट ठगी गरेको आरोप लागेको हो।
प्रहरीका अनुसार चन्द्रनिगाहपुर–२ निवासी रेणु माया थिङको उजुरीका आधारमा लामिछानेसहित सोही गाउँपालिकाकी कोपिला लामिछाने तथा सिरान्चोक गाउँपालिका–७ निवासी यदु पाण्डेलाई पक्राउ गरिएको हो।
उनीहरूले “चिठ्ठा परेको” भन्दै विभिन्न प्रलोभन देखाएर थिङबाट करिब ७० लाख रुपैयाँ अनलाइनमार्फत ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लामिछानेले गाउँपालिकाका सोझासाझा नागरिकलाई ऋण मिलाइदिने आश्वासन दिँदै बैंकमा खाता खोल्न लगाएर ठगी धन्दा सञ्चालन गर्दै आएका थिए। विभिन्न बहानामा आर्थिक प्रलोभन देखाएर रकम असुल्ने कार्यमा उनी संलग्न रहेको आशंका गरिएको छ।
लामिछाने नेपाली कांग्रेस का तर्फबाट गत स्थानीय तह निर्वाचनमा भिमसेनथापा गाउँपालिका–२ मा वडा सदस्य पदमा निर्वाचित भएका थिए। पक्राउ परेकामाथि थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।