११ जेष्ठ काठमाडौँ । १३ लाखभन्दा बढी सब्सक्राइबर रहेको प्रधानमन्त्री बालेन शाह तथा चर्चित र्यापर बालेन्द्र शाह (बालेन) को युट्युब च्यानलमा ‘शिरमाथि नेपाल आमा, काँधमाथि ज्ञानेन्द्र राजालाई’ बोलको गीत देखिएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ। गणतन्त्रात्मक व्यवस्थामा रहेका एक जननिर्वाचित नेतृत्वकर्ताको च्यानलमा राजतन्त्रको पक्षमा रहेको आशयको गीत देखिएपछि कतिपयले यसलाई राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् भने केहीले च्यानल ह्याक भएको आशंका समेत व्यक्त गरेका छन्।
गत फेब्रुअरी २० मा अपलोड भएको उक्त एआई भर्सन गीतले समाचार तयार पार्दासम्म ४ हजार ५ सयभन्दा बढी भ्युज बटुलिसकेको छ। गीतमा “शिरमाथि नेपाल आमा, काँधमाथि ज्ञानेन्द्र राजालाई” भन्ने शब्द प्रयोग गरिएको छ, जसका कारण बालेनले पूर्वराजा ज्ञानेन्द्र शाह प्रति समर्थन जनाउन खोजेको हो कि भन्ने प्रश्न उठाइएको छ।तर, वास्तविकता भने फरक रहेको देखिएको छ। उक्त गीत न त बालेनले व्यक्तिगत रूपमा अपलोड गरेका हुन्, न त उनको युट्युब च्यानल ह्याक भएको हो।
बालेन राजनीतिज्ञ मात्र नभई एक स्थापित र्यापर, गीतकार तथा संगीतकर्मी पनि हुन्। युट्युबले उनलाई आधिकारिक कलाकार (Official Artist) का रूपमा मान्यता दिएको छ। त्यसैले उनको च्यानल ‘अफिसियल आर्टिस्ट च्यानल’को रूपमा सञ्चालनमा रहेको छ, जहाँ संगीतसम्बन्धी सामग्री स्वतः व्यवस्थापन हुने विशेष प्रणाली सक्रिय हुन्छ।
युट्युबले सन् २०२४ देखि ‘रिलिजेज’(Releases) नामक फिचर लागू गरेको छ, जुन आधिकारिक कलाकार च्यानलमा स्वतः देखिन्छ। नेपालमा भने पछिल्ला केही समययता मात्र यो सुविधा कलाकारहरूको च्यानलमा देखिन थालेको हो। यो फिचर सामान्य भिडियो वा भ्लगका लागि नभई आधिकारिक एल्बम, ईपी तथा सिङ्गल अडियो ट्र्याकका लागि डिजाइन गरिएको हो।
कुनै पनि डिजिटल म्युजिक डिस्ट्रिब्युटरमार्फत — जस्तै TuneCore, DistroKid वा अन्य म्युजिक लेबल गीत रिलिज गर्दा, सम्बन्धित कलाकारलाई मेन्सन वा ट्याग गरिएको अवस्थामा युट्युबको स्वचालित प्रणालीले ती सामग्री कलाकारको च्यानलको ‘रिलिजेज’ ट्याबमा समावेश गरिदिन्छ। यसरी आएका सामग्री कलाकारले आफैं अपलोड गरेको हुनुपर्छ भन्ने आवश्यक हुँदैन।
यही प्राविधिक कारणले बालेनको च्यानलमा ‘शिरमाथि नेपाल आमा’ बोलको गीत मात्र नभई अन्य विभिन्न एआई तथा असम्बन्धित गीतहरू पनि देखिएका छन्। ‘न आत्तिनु मेरी आमा’, ‘देउरालीमा बतास चल्यो’, ‘बाइरोडमा ड्राइभर, हर्न बजाउँदै’, ‘अबकी बार बालेन सरकार’ र ‘तर अन्तिम पल्ट’ लगायतका गीतहरू पनि युट्युबको यही स्वचालित प्रणालीमार्फत च्यानलमा देखिएको पाइएको छ।