Logo

बुधवार, श्रावण १३ गते २०८३

सदनको गतिरोध अन्त्यका लागि विपक्षीसँग थप छलफल गर्ने रास्वपाको निष्कर्ष

सदनको गतिरोध अन्त्यका लागि विपक्षीसँग थप छलफल गर्ने रास्वपाको निष्कर्ष

जोईन खबर

२५, जेठ २०८३
  • 256
    SHARES
  • सदनको गतिरोध अन्त्यका लागि विपक्षीसँग थप छलफल गर्ने रास्वपाको निष्कर्ष

    २५ जेष्ठ काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न विपक्षी दलहरूसँग थप छलफल गर्ने जनाएको छ।सोमबार रास्वपा सभापति रवि लामिछाने ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा संसद् अवरोध हटाउने विषयमा व्यापक छलफल भए पनि तत्काल सहमति जुट्न नसकेपछि संवादलाई निरन्तरता दिने निष्कर्ष निकालिएको हो।

    images

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले संसद्को अवरोध अन्त्य गरी नियमित संसदीय गतिविधि सञ्चालन गर्ने विषयमा सबै दलहरू सकारात्मक रहेको बताउनुभयो। उहाँका अनुसार बैठकमा विभिन्न दलहरूले आ–आफ्ना धारणा राखेका थिए, तर केही विषयमा अझै थप छलफल आवश्यक देखिएकाले आगामी दिनमा संवादलाई तीव्रता दिइनेछ।

    महामन्त्री बुर्लाकोटीले संसद्लाई लामो समयसम्म अवरुद्ध राख्नु लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नहुने भन्दै राष्ट्रिय महत्वका विषयमा छलफल र निर्णयका लागि सदन सुचारु हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

    रास्वपाले सबै राजनीतिक दलहरूबीच सहमति र समझदारी कायम गर्दै संसद्को गतिरोध अन्त्य गर्न पहल जारी राख्ने जनाएको छ। पार्टीका अनुसार आगामी छलफलहरूबाट साझा निष्कर्ष निकालेर संसद् सञ्चालनको वातावरण बनाउने प्रयास गरिनेछ।

    यसअघि विभिन्न राजनीतिक तथा संसदीय विषयलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। त्यसैको समाधान खोज्न रास्वपा सभापति लामिछानेको पहलमा सर्वदलीय बैठक बोलाइएको थियो। यद्यपि पहिलो चरणको छलफलबाट ठोस सहमति नजुटेपछि संवादलाई निरन्तरता दिने सहमति भएको बताइएको छ।

    प्रकाशित मिति :जेठ २५, २०८३ सोमवार - १७:०३:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको