२८ जेष्ठ काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराई एक महिनाको गाउँ बसाइँपछि बिहीबार काठमाडौं फर्किएका छन्।
भट्टराई विगत एक महिनादेखि आफ्नो पुर्ख्यौली घर गोरखाको बेलवासमा बसोबास गर्दै आएका थिए। गाउँ बसाइँका क्रममा उनले स्थानीय बासिन्दासँग नियमित भेटघाट तथा संवाद गर्नुका साथै अध्ययन, लेखन र विभिन्न सामाजिक गतिविधिमा समय बिताएका थिए।
भट्टराईले २०६४ सालदेखि नै प्रत्येक महिना कम्तीमा एकपटक गोरखा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्। सक्रिय राजनीतिमा पहिलेको तुलनामा कम देखिए पनि उनी पछिल्ला वर्षहरूमा लामो समय पुर्ख्यौली घरमै बसेर अध्ययन, अनुसन्धान र समसामयिक विषयमा काम गर्ने गरेका छन्।
यसपटकको गाउँ बसाइँका क्रममा भट्टराईले स्थानीयवासीसँग मिलेर गाउँका बाटोघाटो सरसफाइ, कुलेसो मर्मत तथा सफाइ लगायतका सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाएका थिए। स्थानीय पूर्वाधारको संरक्षण र सामुदायिक श्रम संस्कृतिलाई प्रवर्द्धन गर्न उनले स्वयं श्रमदान गरेका तस्वीर तथा गतिविधिहरू सामाजिक सञ्जालमा समेत चर्चित बनेका थिए।
स्थानीयवासीहरूले भट्टराईको गाउँसँगको निरन्तर सम्बन्ध र प्रत्यक्ष सहभागिताले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्। एक महिनाको बसाइँ पूरा गरेर उनी आज काठमाडौं प्रस्थान गरेका हुन्।