३१ जेष्ठ काठमाडौँ । सामाजिक सञ्जालमा भिरबाट टेम्पु खसालिएको भिडियो व्यापक रूपमा भाइरल भएपछि डिभिजन वन कार्यालय कैलालीले घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
कार्यालयले जारी गरेको स्पष्टीकरणमा भिडियोमा देखिएको टेम्पु गुड्ने अवस्थामा रहेको सवारी साधन नभई वन क्षेत्र अतिक्रमण गरेर सञ्चालन गरिएको पसलका रूपमा प्रयोग भइरहेको चक्का र इन्जिनविहीन कवाडी संरचना रहेको जनाएको छ। वन अतिक्रमण हटाउने अभियान अन्तर्गत उक्त संरचना हटाउने क्रममा भिरालो जमिनका कारण असन्तुलित भई भीरबाट खसेको कार्यालयको भनाइ छ।
कार्यालयका अनुसार घटनालाई वास्तविकता विपरीत प्रस्तुत गर्दै सामाजिक सञ्जालमा विभिन्न भ्रामक टिप्पणी तथा प्रचारप्रसार गरिएको पाइएको छ। यसले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले सत्यतथ्य नबुझी गलत सूचना प्रसारण नगर्न सबैमा आग्रह गरिएको छ।
डिभिजन वन कार्यालय कैलालीले वन अतिक्रमण नियन्त्रण तथा संरक्षणका लागि कानुनबमोजिमका गतिविधि निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै तथ्यहीन र भ्रामक सामग्रीको पछि नलाग्न तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरेको छ।