१ असार काठमाडौँ । सिरानचोक गाउँपालिकाद्वारा आयोजित प्रथम वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगिता २०८३ साल जेठ ३० र ३१ गते सिरानचोक–५ स्थित चित्रपोखरी चौरमा सञ्चालन गरिएको थियो।
प्रतियोगितामा गाउँपालिकाका आठवटै वडाबाट एक–एक टोलीको सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ८ ले उपाधि जित्न सफल भएको हो। फाइनल खेलमा वडा नं. ८ ले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ।
गाउँपालिकाले स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए भने स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थितिले खेलमय वातावरण सिर्जना गरेको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस्ता कार्यक्रमले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुर्याउँछ।
अर्यालले प्रतियोगिताले गाउँपालिकाभित्रका विभिन्न वडाबीच आपसी सद्भाव, भाइचारा र एकतालाई थप मजबुत बनाएको समेत बताए। आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकास र प्रतिभा प्रोत्साहनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।