२ असार काठमाडौं । रास्वपा सांसद यज्ञमणि न्यौपाने ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ माथि कडा टिप्पणी गर्दै किरात संस्कृति र धर्म कुनै व्यक्ति विशेषको निजी सम्पत्ति नभएको बताएका छन्।पछिल्लो समय सांस्कृतिक तथा धार्मिक पहिचानका विषयमा भइरहेका बहस र अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद न्यौपानेले किरात सभ्यता, इतिहास र संस्कार सम्पूर्ण किरात समुदायको साझा धरोहर भएको उल्लेख गरेका हुन्। उनले संस्कृति र धर्मलाई व्यक्तिगत प्रचार, राजनीतिक स्वार्थ वा कुनै एक व्यक्तिको प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्नु उपयुक्त नहुने बताएका छन्।
हर्क साम्पाङको नामै लिएर प्रतिक्रिया दिएका न्यौपानेले भने, “किरात संस्कृति र धर्म कसैको पेवा होइन। यसको आफ्नै गौरवशाली इतिहास, मान्यता र गरिमा छ। कसैले पनि यसलाई आफ्नो अनुकूल व्याख्या गर्ने वा कब्जामा लिन खोज्ने अधिकार राख्दैन।”
उनले जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वले सबै धर्म, संस्कृति र समुदायप्रति समान सम्मान देखाउनुपर्नेमा जोड दिएका छन्। समाजमा सद्भाव, सहिष्णुता र एकता कायम राख्नु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गर्दै उनले पहिचान र संस्कृतिका नाममा समाजलाई विभाजित गर्ने गतिविधिबाट टाढा रहन आग्रह गरे।
सांसद न्यौपानेले हर्क साम्पाङका पछिल्ला अभिव्यक्ति र गतिविधिका कारण सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अनावश्यक विवाद सिर्जना भएको दाबी गर्दै जिम्मेवार ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। उनले संस्कृति र धार्मिक आस्थाजस्ता संवेदनशील विषयमा बोल्दा सार्वजनिक व्यक्तित्वहरूले विशेष सावधानी अपनाउनुपर्ने बताए।
उनको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच बहस चर्किएको छ। कतिपयले न्यौपानेको अभिव्यक्तिलाई सांस्कृतिक विविधताको पक्षमा आएको धारणा भनेका छन् भने केहीले यसलाई हर्क साम्पाङप्रति लक्षित राजनीतिक टिप्पणीका रूपमा व्याख्या गरेका छन्।किरात संस्कृति र पहिचानको विषयलाई लिएर पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूबीच मतभेद देखिँदै आएको छ। यस्तै विवादका बीच सांसद न्यौपानेको अभिव्यक्तिले नयाँ बहस सुरु गराएको छ।