२ असार काठमाडाैँ । कप्तान Lionel Messi को कीर्तिमानी ह्याट्रिकको मद्दतमा साविक विजेता Argentina ले फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ। क्यान्सास सिटी स्टेडियममा सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले Algeria लाई ३–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
३८ वर्षीय मेस्सीले विश्वकप करियरमै पहिलो पटक ह्याट्रिक गर्दै नयाँ इतिहास रचे। उनले खेलको १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ६०औँ र ७६औँ मिनेटमा थप दुई गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिना समूहको शीर्ष स्थानमा उक्लिएको छ। खेलभर अर्जेन्टिनाले बलमा नियन्त्रण कायम राख्दै आक्रामक खेल प्रस्तुत गरेको थियो भने अल्जेरियाले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।
यस प्रदर्शनपछि मेस्सीको विश्वकपमा कुल गोल संख्या १६ पुगेको छ। उक्त उपलब्धिसँगै उनले विश्वकप इतिहासका सर्वाधिक गोलकर्तामध्ये एक मानिने Miroslav Klose को कीर्तिमानसँग बराबरी गरेको जनाइएको छ।छैटौँ विश्वकप खेलिरहेका मेस्सीले अर्को कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। उनी विश्वकपमा ह्याट्रिक वा ब्रेस गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन्। बाहिरी बक्सबाट गरेको आकर्षक गोल तथा खेलका विभिन्न चरणमा गोल गर्ने उनको क्षमताले विश्व फुटबल समर्थकमाझ पुनः चर्चा बटुलेको छ।
खेलपछि स्टेडियममा उपस्थित हजारौँ समर्थकहरूले मेस्सीको नाममा नारा लगाउँदै उत्सव मनाएका थिए। सामाजिक सञ्जालमा पनि फुटबल समर्थकहरूले उनको प्रदर्शनको खुलेर प्रशंसा गर्दै उनलाई ‘ग्रेटेस्ट अफ अल टाइम (GOAT)’ को संज्ञा दिएका छन्।पहिलो खेलमै प्रभावशाली नतिजा निकालेपछि अर्जेन्टिनालाई यस संस्करणको विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। मेस्सीको उत्कृष्ट लय कायम रहेमा अर्जेन्टिनी समर्थकहरूको विश्वकप ट्रफी पुनः जित्ने सपना थप बलियो बन्ने विश्वास गरिएको छ। अब अर्जेन्टिनाले आफ्नो आगामी खेलको तयारी सुरु गर्नेछ।