७ असार काठमाडौँ । भरतपुरमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थल शनिबार राति परेको अविरल वर्षाका कारण भिजेको छ।
रातभर परेको पानीका कारण महाधिवेशन आयोजना गरिने स्थल हिलाम्मे बनेपछि आयोजक टोली बिहानैदेखि पानी निकाल्ने र स्थललाई व्यवस्थित बनाउने काममा जुटेको छ। महाधिवेशन स्थलमा जमेको पानी हटाउने कार्य जारी रहेको र मञ्च तथा अन्य संरचना सजाउने कामलाई समेत तीव्रता दिइएको आयोजकले जनाएको छ।
वर्षाका बाबजुद महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याउने काम भइरहेको छ। महाधिवेशनलाई लक्षित गरी पण्डाल निर्माण, प्रतिनिधि व्यवस्थापन, सुरक्षा तथा अन्य प्राविधिक तयारीलाई पनि तीव्र पारिएको छ।
यसैबीच, देशका विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरू भरतपुर आउने क्रम जारी रहेको छ। पार्टीका शीर्ष नेतासहित हजारौं प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको छ।तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।





