७ असार काठमाडौँ । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन आएका छन्। महाधिवेशनको उद्घाटन तथा बन्दसत्रमा सहभागी हुन प्रधानमन्त्री शाह श्रीमती र छोरीसहित चितवन पुगेका हुन्।
प्रधानमन्त्री शाह कालिका नगरपालिका–९ शक्तिखोरमा हालै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै उक्त रिसोर्ट ६ असारदेखि चार दिनका लागि पूर्ण रूपमा बुक गरिएको छ।
रिसोर्ट स्रोतका अनुसार रिसोर्टका १६ वटै कोठा चार दिनका लागि आरक्षण गरिएको छ। तीमध्ये १३ वटा कोठामा पाहुना बस्नेछन् भने बाँकी तीन कोठा आवश्यकता अनुसार प्रयोग गरिने बताइएको छ। सुरक्षाको कारण देखाउँदै अन्य पाहुनालाई रिसोर्ट परिसरमा प्रवेश गर्न नदिइएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको आगमनअघि नै शनिबार नेपाली सेना र नेपाल प्रहरीको टोली रिसोर्ट पुगेर सुरक्षा जाँच तथा निरीक्षण गरेको थियो। त्यसयता रिसोर्ट क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।महाधिवेशनको उद्घाटनस्थलबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा रहेको लटौली सेन्चुरी रिसोर्ट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी तथा सिद्धी जाने सडकको चोकमा अवस्थित छ।
रिसोर्टमा प्रधानमन्त्री शाह, गृहमन्त्री सुदन गुरुङसहित बालेन पक्षका नेताहरू बस्ने जनाइएको छ। प्रधानमन्त्रीको बसाइलाई लक्षित गर्दै रिसोर्टमा तीन वटा भीभीआईपी कक्ष विशेष रूपमा तयारी अवस्थामा राखिएको छ।
प्रधानमन्त्री आउने भएपछि रिसोर्टका अधिकांश कर्मचारीलाई चार दिनका लागि बिदा दिइएको छ। सीमित कर्मचारीमार्फत मात्रै सेवा सञ्चालन गरिने व्यवस्था मिलाइएको छ। किचनमा दुई जना, हाउसकिपिङमा दुई जना तथा आवश्यक अन्य केही कर्मचारी मात्र खटाइएको जनाइएको छ।
सुरक्षालाई मध्यनजर गर्दै रिसोर्टका सबै सीसीटिभी क्यामेरा बन्द गरिएको छ भने कर्मचारीहरूलाई फोटो खिच्न तथा मोबाइल फोन लैजानसमेत रोक लगाइएको छ।आकर्षक डिजाइनमा निर्माण गरिएको लटौली सेन्चुरी रिसोर्ट पछिल्लो समय निकै चर्चामा रहेको छ। रिसोर्टका भिल्ला नजिकै आकर्षक स्विमिङ पुलसमेत रहेको छ।
यसैबीच, लटौली सेन्चुरी रिसोर्ट सञ्चालन गरिरहेको सोही कम्पनीको भ्युरानकोट रिसोर्टका १४ वटा कोठा पनि प्रधानमन्त्रीको टोलीले चार दिनका लागि बुक गरेको छ। लटौली रिसोर्टभन्दा करिब ४ सय मिटर माथि अवस्थित भ्युरानकोट रिसोर्टमा कटेज शैलीका कोठा र टेन्ट सुविधा उपलब्ध रहेको छ।यी दुवै रिसोर्ट स्थानीय व्यवसायी ज्ञानेन्द्र खड्काले सञ्चालन गर्दै आएका छन्। रास्वपाका महामन्त्री भुपदेव शाह पनि केही दिनअघि यही रिसोर्टमा बसेका थिए।