२५ असार काठमाडौँ । प्रधानमन्त्री वलेन्द्र शाह (बालेन)को नाम उल्लेख गर्दै सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हौँ’ भन्ने अभिव्यक्ति दिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुखसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइएको हो।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गर्दै घटनाबारे आवश्यक जानकारी लिइरहेको बताए। उनका अनुसार यो विषयमा छानबिनभन्दा पनि उक्त अभिव्यक्ति कुन सन्दर्भमा र किन दिइएको हो भन्नेबारे सामान्य सोधपुछ भइरहेको छ।सार्वजनिक भएको भिडियोमा डीएसपी चौधरीले भनेका छन्, “हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हौँ। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हौँ।”
उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको भिडियोमा देखिन्छ।त्यसक्रममा उनले नेपाल प्रहरीले लगाउने बर्दी राष्ट्रपतिसमेतले लगाउन नपाउने उल्लेख गर्दै आफू २०७० सालमा १३८ जनामध्ये छनोट भएर प्रहरी सेवामा प्रवेश गरेको बताए। साथै, “हामी भोट हालेर टीका लगाएर आएका होइनौँ, दारु–भात खाएर आएका पनि होइनौँ,” भन्दै प्रहरी संगठन योग्यता र प्रतिस्पर्धाबाट बनेको संस्था भएको दाबी गरेका थिए।
कार्यक्रमकै क्रममा उनले आफ्नो भनाइको भिडियो सार्वजनिक नगर्न आग्रह गरेका थिए। तर, उनको आग्रहविपरीत भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त अभिव्यक्तिले व्यापक चर्चा पाएको छ।कैलाली प्रहरीले भने डीएसपी चौधरीमाथि औपचारिक कारबाही सुरु भइसकेको नभई उनले दिएको अभिव्यक्ति कुन सन्दर्भमा आएको हो भन्ने विषयमा प्रारम्भिक सोधपुछका लागि मात्रै जिल्ला बोलाइएको जनाएको छ।