Logo

मंगलवार, श्रावण १२ गते २०८३

भारी वर्षाले गोरखाको पन्दुङ सडक बगायो, स्थानीय बासिन्दा आवतजावतबाट पूर्ण रूपमा प्रभावित

भारी वर्षाले गोरखाको पन्दुङ सडक बगायो, स्थानीय बासिन्दा आवतजावतबाट पूर्ण रूपमा प्रभावित

जोईन खबर

६, श्रावण २०८३
  • 583
    SHARES
  • भारी वर्षाले गोरखाको पन्दुङ सडक बगायो, स्थानीय बासिन्दा आवतजावतबाट पूर्ण रूपमा प्रभावित

    ६ साउन काठमाडौँ । केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण गोरखा बारपाक सुलिकोट गाउँपालिका–८ अन्तर्गत घ्याम्पेसाल–पन्दुङ हुदै  पाल्खु जोडने सडक बग्दा स्थानीय बासिन्दा ठूलो समस्यामा परेका छन्।

    images

    निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले सडकको ठूलो भाग बगाएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको स्थानीयले बताएका छन्। सडक बगेपछि पन्दुङ क्षेत्रका स्थानीयको दैनिक आवतजावत, खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी, बिरामीको उपचारका लागि अस्पतालसम्म पुग्ने व्यवस्था र विद्यार्थीको विद्यालय आवागमनमा समेत गम्भीर असर परेको छ।

    स्थानीयवासीका अनुसार वर्षायाम सुरु भएसँगै उक्त सडक जोखिममा पर्दै आएको भए पनि समयमै आवश्यक संरक्षण तथा मर्मतका काम हुन नसक्दा यसपटकको भारी वर्षाले सडक नै बगाएको हो। सडकको अवस्था अत्यन्त जोखिमपूर्ण बनेकाले सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ भने पैदल यात्रा गर्नसमेत कठिन भएको स्थानीयको भनाइ छ।

    स्थानीय बासिन्दाले सम्बन्धित निकायसँग तत्काल क्षतिको स्थलगत निरीक्षण गरी सडक पुनः सञ्चालनका लागि आवश्यक मर्मत तथा पुनर्निर्माण कार्य अघि बढाउन माग गरेका छन्। वर्षायाम अझै जारी रहेकाले थप पहिरो र सडक क्षतिको जोखिमसमेत बढेको भन्दै उनीहरूले दीर्घकालीन संरक्षणका उपाय अपनाउन आग्रह गरेका छन्।

    यता स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायले सडकको क्षतिको विवरण संकलन गरी आवश्यक पहल सुरु गर्ने तयारी भइरहेको बताएका छन्। यद्यपि सडक पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

    वर्षाका कारण ग्रामीण सडकहरूमा बढ्दो क्षतिले गोरखाका पहाडी बस्तीहरूमा यातायात, स्वास्थ्य, शिक्षा र दैनिक जनजीवनमा प्रत्यक्ष असर पारिरहेको छ। स्थानीयले विपद् व्यवस्थापनसँगै जोखिमयुक्त सडकहरूको दीर्घकालीन संरक्षण र स्तरोन्नतिमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

    प्रकाशित मिति :श्रावण ६, २०८३ बुधवार - ०९:४६:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको