६ साउन काठमडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका सुरेशचन्द्र श्रेष्ठले आफैँ आगो लगाएर आत्मदाह गरेको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनामा अन्य कुनै व्यक्तिको संलग्नता नरहेको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका–२६ नरदेवीका सुरेशचन्द्र श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए। मंगलबार बिहान उनी आफैँले चलाउँदै आएको बा।५ च ३०३८ नम्बरको कार लिएर कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक पुगेका थिए।
प्रहरीका अनुसार श्रेष्ठले सडकबाट केही पर रहेको खाली स्थानमा कार पार्किङ गरेपछि कारभित्रै आगलागी भएको थियो। घटनास्थल नजिक रहेका एक युवकले कारमा आगो लागेको देखेपछि तत्काल उद्धार गर्ने प्रयास गरेका थिए। सिसिटिभी फुटेजमा ती युवकले कारको अगाडिको ढोका खोलेर चालकलाई बाहिर निकाल्ने प्रयास गरेको देखिएको छ। तर आगोको तीव्रताका कारण ढोका खोल्ने क्रममा उनको हातसमेत जलेपछि उनी पछि हट्न बाध्य भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरले घटनाको विस्तृत अनुसन्धान तथा सिसिटिभी फुटेजको विश्लेषण गरेपछि घटनामा अन्य व्यक्तिको संलग्नता नरहेको निष्कर्ष निकालेको हो। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार हालसम्मको अनुसन्धानले श्रेष्ठले आफैँ आगो लगाएर आत्मदाह गरेको देखिएको छ।घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। त्यसपछि चालक सिटमै श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा श्रेष्ठ औषधी व्यवसायमा संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार कोरोना महामारीपछि उनको व्यवसायमा ठूलो घाटा लागेको र त्यसपछि उनी आर्थिक समस्यामा पर्दै गएको देखिएको छ। पारिवारिक स्रोतले पनि पछिल्लो समय उनी ऋणको बोझ र आर्थिक तनावमा रहेको जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानले आर्थिक समस्याकै कारण उनले यस्तो कदम चालेको हुनसक्ने संकेत गरेको प्रहरीले जनाएको छ।श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। यातायात व्यवस्था विभागको अभिलेखअनुसार उनले प्रयोग गरेको कार सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको संयुक्त नाममा दर्ता रहेको खुलेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।