६ साउन काठमाडौँ । पाँच दशकभन्दा बढी समयदेखि कुनै पारिश्रमिक नलिई ट्राफिक व्यवस्थापनमा सक्रिय रहँदै आएका पाल्पाका लोकबहादुर श्रेष्ठ सम्मानित भएका छन्। ४४औँ बिपी स्मृति दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) जिल्ला कार्य समिति पाल्पाले तानसेनमा आयोजना गरेको विशेष कार्यक्रममा श्रेष्ठलाई नगद, सम्मानपत्र तथा कपडा प्रदान गरी सम्मान गरिएको हो।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले लोकबहादुर श्रेष्ठले विगत ५२ वर्षदेखि निरन्तर रूपमा ट्राफिक व्यवस्थापन गर्दै नागरिकको सुरक्षा, सडक अनुशासन र सहज आवागमनमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरे। उनले कुनै आर्थिक पारिश्रमिकको अपेक्षा नगरी समाजसेवाको भावनाका साथ लामो समयसम्म गरेको सेवाले सम्पूर्ण समाजका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको बताए।
सभापति श्रेष्ठले लोकबहादुरको समर्पण, इमानदारी र सेवाभावको उच्च मूल्यांकन गर्दै समाजमा यस्ता व्यक्तित्वको सम्मान हुनुपर्ने धारणा व्यक्त गरे। उनले सम्मानले सामाजिक सेवामा लागेका व्यक्तिहरूलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
सम्मान ग्रहणपछि लोकबहादुर श्रेष्ठले आफूले सेवा र जिम्मेवारीको भावनाले ट्राफिक व्यवस्थापनमा निरन्तर योगदान दिँदै आएको बताउँदै प्राप्त सम्मानले आगामी दिनमा अझ जिम्मेवार भएर समाजसेवामा लाग्न ऊर्जा मिलेको प्रतिक्रिया दिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले लोकबहादुर श्रेष्ठको निस्वार्थ सेवाको प्रशंसा गर्दै यस्ता व्यक्तित्वलाई समयमै सम्मान गरिनु सकारात्मक सन्देश भएको बताएका थिए।
स्थानीय स्तरमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा दीर्घकालीन योगदान पुर्याएका लोकबहादुर श्रेष्ठको सम्मानले समाजसेवा र स्वयंसेवी भावनाको कदर गर्दै नयाँ पुस्तालाई समेत सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।