७ साउन काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाअन्तर्गत पर्ने घ्याम्पेसाल–ताकुकोट सडकखण्डमा अर्को स्थानमा पनि सडक भासिन थालेपछि स्थानीयवासी र यात्रुमा चिन्ता बढेको छ। लगातारको वर्षाका कारण सडकका विभिन्न भागमा जमिन धसिँदै गएपछि यातायात सञ्चालनसमेत जोखिमपूर्ण बनेको हो।
स्थानीयका अनुसार एक साताअघि पन्द्रुङ क्षेत्रमा सडक भासिएको थियो। अस्थायी रूपमा मर्मत गरिए पनि त्यस स्थानमा अहिले पनि दिनहुँ जमिन धसिने क्रम जारी रहेको छ। मर्मत गरिएको सडक पुनः थप भासिएपछि स्थायी समाधानको आवश्यकता देखिएको छ।
यसैबीच पहरे खुलाल चोकमाथिको सडक पनि भासिन थालेको छ। एउटै सडकखण्डका विभिन्न स्थानमा सडक धसिन थालेपछि वर्षायाममा यातायात सञ्चालन थप जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार अहिलेको वर्षायाममा सडकको स्थायी मर्मत सम्भव देखिँदैन। लगातार वर्षा भइरहेकाले सडक थप भासिने र क्षति बढ्ने जोखिम रहेको उनीहरूको भनाइ छ।
उल्लेखनीय छ, घ्याम्पेसाल–ताकुकोट सडक करिब एक वर्षअघि मात्रै कालोपत्र गरिएको थियो। तर छोटो समयमै सडकका विभिन्न स्थानमा भासिने समस्या देखिएपछि निर्माण गुणस्तर, भूगर्भीय अवस्था र दीर्घकालीन संरक्षणका विषयमा समेत प्रश्न उठ्न थालेको छ।
स्थानीयवासीले सम्बन्धित निकायसँग सडकको विस्तृत प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानसहित तत्काल आवश्यक सुरक्षा तथा मर्मतको व्यवस्था गर्न माग गरेका छन्। यस्तै, सडक भएर यात्रा गर्ने सवारी चालकलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।