८ साउन रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि रौतहटमा कालोमसी प्रहार भएको छ। जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा अज्ञात समूहले उनीमाथि पछाडिबाट कालो पदार्थ प्रहार गरेको हो।
यो घटना बिहीबार राति रौतहटको गढीमाई नगरपालिका–४ मा भएको हो। स्थानीयसँगको कार्यक्रम सकेर फर्किरहेका बेला झण्डासहित आएका केही व्यक्तिले नाराबाजी गर्दै सांसद पौडेलमाथि कालोमसी प्रहार गरेका थिए। घटनापछि संलग्न व्यक्तिहरू नजिकैको उखुबारीतर्फ भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनाको पुष्टि गर्दै सांसद पौडेलले राति करिब ८ बजेतिर कार्यक्रम समाप्त भएपछि पछाडिबाट आफूलाई कालो पदार्थ प्रहार गरिएको बताए। उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ।
सांसद पौडेलले आक्रमणमा संलग्न व्यक्तिहरू मधेसी मुक्ति अभियानसँग आबद्ध रहेको दाबी गरेका छन्। उनीहरूले घटनाका क्रममा ‘मेचीदेखि महाकालीसम्मको भूभाग मधेसको हो’ भन्ने नारा लगाएको तथा घटनास्थलमा विभिन्न पर्चा पनि छरेको उनले बताएका छन्।
पौडेलका अनुसार कार्यक्रम सुरु हुनुअघि केही व्यक्तिले आफूलाई स्थानीय मुस्लिम समुदायको शव गाड्ने स्थान (कबरदाह) अवलोकन गर्न आग्रह गरेका थिए। समय अभावका कारण अर्को दिन जाने बताएपछि सोही समूहले असन्तुष्टि जनाउँदै कालोमसी प्रहार गरेको हुन सक्ने उनको अनुमान छ।
घटनापछि प्रहरीले घटनास्थलको निरीक्षण गरी संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्नको पहिचान, उद्देश्य र संलग्नता सम्बन्धी विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस घटनाले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ। सार्वजनिक कार्यक्रममा निर्वाचित जनप्रतिनिधिमाथि भएको यस्तो आक्रमणप्रति विभिन्न कोणबाट प्रतिक्रिया आउन थालेका छन् भने सुरक्षा निकायले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति :श्रावण ८, २०८३ शुक्रवार -
१२:०२:५५ बजे