Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रधानमन्त्री र गृहमन्त्री किन थिएनन् सर्वदलीय बैठकमा सभापति रवि लामिछानेले दिए यस्तो स्पष्टीकरण

प्रधानमन्त्री र गृहमन्त्री किन थिएनन् सर्वदलीय बैठकमा सभापति रवि लामिछानेले दिए यस्तो स्पष्टीकरण

जोईन खबर

१३, श्रावण २०८३
  • 400
    SHARES
  • प्रधानमन्त्री र गृहमन्त्री किन थिएनन् सर्वदलीय बैठकमा सभापति रवि लामिछानेले दिए यस्तो स्पष्टीकरण

    १३ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनाको विषयमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी नभएको विषयमा स्पष्टीकरण दिएका छन्।

    images

    बुधबार सर्वदलीय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले उक्त बैठक सरकारको बैठक नभई राजनीतिक दलका शीर्ष नेताहरूबीच समसामयिक घटनाक्रमबारे साझा धारणा बनाउने उद्देश्यले आयोजना गरिएको बताए। त्यसैले प्रधानमन्त्री र गृहमन्त्री सहभागी नभएको उनको भनाइ थियो।

    उनले सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले बैठकमा सहभागी भएको जानकारी दिँदै बैठकको उद्देश्य सरकारलाई आवश्यक सुझाव र ध्यानाकर्षण गराउनु रहेको स्पष्ट पारे।“यो बैठक राजनीतिक दलहरूका शीर्ष नेताहरूले विद्यमान घटनाक्रमलाई हेर्ने दृष्टिकोण साझा गर्ने र आवश्यक परे सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले बसेको हो,” लामिछानेले भने।

    उनले प्रधानमन्त्री र गृहमन्त्री आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै कुनै पनि घटनाको सुरुआतमै निष्कर्षमा पुग्न नहुने धारणा व्यक्त गरे।“प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहनुभएको छ। गृहमन्त्रीले पनि आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ। कुनै पनि घटनाको सुरुआतमै निष्कर्षमा पुग्नुपर्ने अवस्था हुँदैन,” उनले भने।

    लामिछानेले अहिलेको प्राथमिकता आरोप–प्रत्यारोप होइन, सामाजिक सद्भाव, शान्ति र सुव्यवस्था कायम गर्नु भएको बताए। उनले को बोल्यो, को बोलेन, को बैठकमा आयो वा आएन भन्ने विषयमा केन्द्रित हुनुभन्दा समाजमा शान्ति कायम राख्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।

    “अहिले आरोप–प्रत्यारोप, चर्का अभिव्यक्ति वा कसले कहिले बोल्यो भन्ने विषयमा जाने समय होइन। सबैभन्दा महत्वपूर्ण कुरा सामाजिक सद्भाव नबिग्रियोस् भन्ने हो,” उनले भने।सुनसरीमा गोली लागेर एक नागरिकको मृत्यु भएको घटनालाई अत्यन्तै गम्भीर रूपमा लिइएको उल्लेख गर्दै उनले घटनाको छानबिन भइरहेको र सत्यतथ्य सार्वजनिक हुन केही समय लाग्ने बताए।

    उनले भदौ २३–२४ मा देखिएको आन्दोलनको अवस्था र अहिलेको परिस्थितिबीच फरक रहेको उल्लेख गर्दै वर्तमान अवस्थालाई जिम्मेवारीपूर्वक विश्लेषण गर्नुपर्ने धारणा राखे। सुरक्षा निकायले पनि घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

    सभापति लामिछानेले संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा बन्नु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष भएको उल्लेख गरे। विगतमा पनि यस्ता घटनामा दलहरूले एकै ठाउँमा उभिएर सरकारको ध्यानाकर्षण गराउने परम्परा रहेको स्मरण गराउँदै उनले त्यसलाई निरन्तरता दिनुपर्ने बताए।

    उनले राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा रहे पनि राष्ट्रिय संकट, सामाजिक सद्भाव र नागरिक सुरक्षासँग जोडिएका विषयमा सबै दल एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।साथै, सबै राजनीतिक दलका तर्फबाट छिट्टै संयुक्त अपिल जारी गरिने जानकारी दिँदै त्यसमार्फत शान्ति, सद्भाव र संयमताको सन्देश प्रवाह गरिने बताए।

    लामिछानेले सञ्चारमाध्यमलाई पनि संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा जिम्मेवारी र संयमता अपनाउन आग्रह गर्दै कुनै पनि सामग्रीले सामाजिक सद्भावमा असर नपुग्ने गरी तथ्यपरक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।

    प्रकाशित मिति :श्रावण १३, २०८३ बुधवार - १२:२१:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको