१४ साउन काठमाडौँ । गए राति परेको अविरल वर्षाका कारण गोरखा नगरपालिका कार्यालय जाने मुख्य सडकमा खोल्साबाट आएको भलले सडक बगाउँदा आवागमन प्रभावित भएको छ।
मानव सेवा आश्रम नजिकै खोल्सामा आएको तीव्र भेलले सडकको केही भाग कटान गरेपछि सडक हिलाम्मे र जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन्। सडक बिग्रिएका कारण आज बिहान एक सवारीसाधन हिलोमा फसेको थियो। स्थानीयवासीको सहयोगमा गाडी निकालिएको भए पनि उक्त सडक भएर यात्रा गर्ने अन्य सवारीसाधनलाई समेत कठिनाइ भएको छ।
वर्षासँगै आएको भलले सडकमा ढुंगा, माटो र लेदो थुप्रिएपछि गोरखा नगरपालिका कार्यालयतर्फ जाने सवारी आवागमन प्रभावित भएको छ। विशेषगरी कार्यालय आउने सेवाग्राही, स्थानीय बासिन्दा तथा दैनिक यात्रुहरू समस्यामा परेका छन्।
स्थानीयले सम्बन्धित निकायलाई तत्काल सडक मर्मत गरी सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। निरन्तर वर्षाको सम्भावना रहेकाले उक्त सडक प्रयोग गर्दा सावधानी अपनाउन प्रशासनले पनि अनुरोध गरेको छ।
सडक मर्मतका लागि आवश्यक उपकरण परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ। वर्षायामका कारण जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध हुने तथा क्षति पुग्ने क्रम बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सरोकारवाला निकायले आग्रह गरेका छन्।