२२ साउन काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठाइएको प्रश्नको विस्तृत जवाफ दिन अस्वीकार गरेका छन्। उनले उक्त विषय अत्यन्त संवेदनशील भएकाले संसदमा बारम्बार उठाउनुभन्दा व्यक्तिगत रूपमा भेटेर सोध्न सांसदहरूलाई आग्रह गरेका छन्।
राष्ट्रिय सभाको बैठकमा नेकपा सांसद विष्णुबहादुर विश्वकर्माले ‘निर्मला पन्तले कहिले न्याय पाउँछिन्’ भन्ने प्रश्न दोहोर्याएपछि गृहमन्त्री गुरुङले यस विषयमा सार्वजनिक रूपमा धेरै बोल्न उपयुक्त नहुने बताएका हुन्।
उनले भने, “यो विषय संवेदनशील छ। यो प्रश्न हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएकोरु अहिले हामीलाई त्यो भारी बोकाउँदै गर्दा यो संवेदनशील विषय हो। यो विषय उठाइराखेर आमाको घाउ र उहाँहरूलाई पीडा दिने कि अनुसन्धान गरी न्याय दिनेरु”
गृहमन्त्रीले घटना बारम्बार सम्झाइरहँदा पीडित परिवारको घाउ बल्झिने तर्क गर्दै अनुसन्धान प्रक्रियालाई प्रभावित नपार्ने वातावरण आवश्यक रहेको बताए।
उनले थप भने, “घटना सम्झाइरहँदा उहाँहरूको मनमा शान्ति हुन्छ तरु यो अनुसन्धानको विषय हो र सक्ष्म अनुसन्धान भइरहेको छ। अबदेखि यो प्रश्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा नउठाउन म आग्रह गर्छु। बरु व्यक्तिगत रूपमा भेटेर मलाई यस विषयमा सोध्नुहोला, मसँग उत्तर छ।”
गृहमन्त्री गुरुङले आफूले यस विषयमा विस्तृत जवाफ दिन नसक्ने भन्दै क्षमासमेत मागे। “एउटी आमाको पीडामाथि मल्हम लगाउनुभन्दा घटना कोट्याइराख्नेरु म यो विषयमा माफ माग्न चाहन्छु, राम्रो उत्तर दिन सक्दिनँ होला,” उनले भने।
निर्मला पन्त हत्या प्रकरण लामो समयदेखि न्यायको प्रतीक्षामा रहेको चर्चित घटनामध्ये एक हो। संसदमा पटक–पटक यो विषय उठ्दै आए पनि दोषी पहिचान र कानुनी निष्कर्ष अझै टुंगोमा पुग्न सकेको छैन। पछिल्लो पटक गृहमन्त्रीको संसदमा दिएको अभिव्यक्तिले अनुसन्धान, पारदर्शिता र पीडित परिवारप्रतिको संवेदनशीलताबारे नयाँ बहस सिर्जना गरेको छ।