२२ साउन काठमाडौं । सामाजिक अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन आफ्नै मनिटाइज्ड फेसबुक अकाउन्टबाट सार्वजनिक गरी त्यसबाट आम्दानी गरेको भन्दै कडा आलोचना गरेका छन्।
ढुङ्गानाका अनुसार प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन आफ्नो निजी आम्दानी हुने फेसबुक अकाउन्टबाट अपलोड गरेका कारण उक्त भिडियोबाट करिब ७०० अमेरिकी डलर (झण्डै १ लाख ६ हजार रुपैयाँ) आम्दानी भएको छ। उनले राष्ट्रका नाममा गरिने आधिकारिक सम्बोधनलाई व्यक्तिगत आम्दानीको माध्यम बनाइनु प्रधानमन्त्री पदको गरिमासँग मेल नखाने टिप्पणी गरे।
उनले हिजो पत्रकार सम्मेलन बोल्दै भने प्रधानमन्त्रीजस्तो सर्वोच्च कार्यकारी पदमा रहेका व्यक्तिको सम्बोधन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पीएमओ) वा राष्ट्रिय सञ्चार माध्यममार्फत सार्वजनिक हुनुपर्नेमा जोड दिए। सामाजिक सञ्जालमार्फत मात्रै आधिकारिक सन्देश प्रवाह गरिनु उचित नभएको उनको भनाइ छ।
ढुङ्गानाले फेसबुक नेपालमा अझै पूर्ण रूपमा दर्ता नभएको प्लेटफर्म भएको उल्लेख गर्दै त्यही माध्यमबाट राष्ट्रका नाममा सम्बोधन गरी आर्थिक लाभ लिनु लज्जास्पद भएको टिप्पणी गरे। प्रधानमन्त्री कुनै कन्टेन्ट क्रिएटर वा फेसबुक सेलिब्रेटी होइनन्। राष्ट्रका नाममा सम्बोधन गर्दा डलर कमाउनु मर्यादित अभ्यास हुन सक्दैन,उनले भने।
उनले प्रधानमन्त्रीका आधिकारिक अभिव्यक्ति सरकारी सञ्चार संयन्त्र वा राष्ट्रिय प्रसारण माध्यमबाट सार्वजनिक हुनुपर्ने धारणा राख्दै मनिटाइज्ड व्यक्तिगत फेसबुक पेजलाई आधिकारिक माध्यम नबनाउन आग्रह गरे।
ढुङ्गानाले प्रधानमन्त्री पदको गरिमा र संस्थागत मर्यादा जोगाउन सरकार सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जाललाई व्यक्तिगत प्रचार वा आम्दानीको माध्यमभन्दा पनि सरकारी सूचनाको पूरक माध्यमका रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।