Logo

शुक्रवार, भाद्र २६ गते २०८३

विश्व आदिवासी दिवसमा काठमाडौंमा झाँकीसहित प्रभातफेरी, सडकमा देखियो विविध संस्कृति

विश्व आदिवासी दिवसमा काठमाडौंमा झाँकीसहित प्रभातफेरी, सडकमा देखियो विविध संस्कृति

जोईन खबर

२४, श्रावण २०८३
  • 466
    SHARES
  • विश्व आदिवासी दिवसमा काठमाडौंमा झाँकीसहित प्रभातफेरी, सडकमा देखियो विविध संस्कृति

    २४ साउन काठमाडौं । ३२औँ विश्व आदिवासी दिवस, २०८३ को अवसरमा आइतबार काठमाडौंमा विभिन्न आदिवासी जनजाति समुदाय तथा संघ–संस्थाको सहभागितामा प्रभातफेरी तथा झाँकी प्रदर्शन गरिएको छ।

    images

    नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय मूल आयोजक समितिको आयोजनामा निकालिएको झाँकीमा विभिन्न जातजातिका मौलिक भेषभूषा, संस्कृति र परम्परा झल्काउने प्रस्तुति समेटिएका थिए। झाँकीमा सहभागीहरू आ–आफ्नो मौलिक पहिचान झल्किने पोसाक तथा सांस्कृतिक प्रस्तुतिसहित सहभागी भएका थिए।

    भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली, शहीदगेट र सुन्धारा हुँदै खुलामञ्चमा पुगेर सम्पन्न भएको थियो। प्रभातफेरीका क्रममा सहभागीहरूले आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनको माग गर्दै विभिन्न नारासमेत लगाएका थिए।

    विश्व आदिवासी दिवस प्रत्येक वर्ष ९ अगस्टमा मनाइन्छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण गर्नुका साथै उनीहरूले भोग्दै आएका समस्या तथा चुनौतीबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

    यस अवसरमा काठमाडौंमा विभिन्न संघ–संस्था तथा समुदायले प्रभातफेरी, झाँकी, सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा सहभागीहरूले आदिवासी जनजातिको मौलिक संस्कृति, भाषा, परम्परा र पहिचान संरक्षणका लागि राज्य तथा सम्बन्धित निकायले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

    संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वका विभिन्न देशमा आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र जीवनपद्धति कायम राख्दै आएका छन्। तर आदिवासी जनजातिको ठूलो हिस्सा अझै पनि गरिबी, विभेद तथा विभिन्न सामाजिक–आर्थिक चुनौतीको सामना गरिरहेको छ।

    नेपालमा यस वर्ष ३२औँ विश्व आदिवासी दिवस मनाइँदैछ। दिवसका अवसरमा आयोजित झाँकी तथा प्रभातफेरीले काठमाडौंका सडकमा नेपालको जातीय तथा सांस्कृतिक विविधता प्रस्तुत गरेको छ भने आदिवासी जनजातिको अधिकार र पहिचान संरक्षणको सवाललाई समेत थप चर्चामा ल्याएको छ।

    प्रकाशित मिति :श्रावण २४, २०८३ आइतवार - १४:४७:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको