२४ साउन कालिकोट । कालिकोटको पलाँता गाउँपालिका–९, थिर्पुस्थित पलाँता अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि स्वास्थ्य सेवा बन्द गरिएको हो।
पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेले अस्पतालको सेवा बन्द भएको पुष्टि गरेका छन्। उनका अनुसार गत शुक्रबार अस्पतालभित्रै मेडिकल अफिसर डा। अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि स्थानीय व्यक्तिहरूले हातपात गरेका थिए।
अस्पताल प्रशासनका अनुसार चिकित्सक र नर्समाथि शुक्रबार दिउँसो अस्पताल परिसरमै कुटपिट भएको थियो। त्यसपछि उनीहरू बस्ने क्वार्टरमै पुगेर समेत आक्रमण गरिएको बताइएको छ।
घटना अस्पतालको वाइफाइ प्रयोग गरी ओपीडी अगाडि मोबाइलमा भिडियो गेम खेलिरहेका केही व्यक्तिलाई स्वास्थ्य सेवा प्रभावित भएको भन्दै बाहिर जान आग्रह गरेपछि सुरु भएको बताइएको छ। उनीहरूलाई अस्पताल परिसरबाट हटाउन सुरक्षा गार्डले खोजेपछि विवाद बढेको र त्यसक्रममा चिकित्सक तथा नर्समाथि आक्रमण भएको अस्पताल प्रशासनको भनाइ छ।
अस्पतालमा कार्यरत नर्स शान्ता गिरीले आफूहरूमाथि लामो समयदेखि गालीगलौज तथा मानसिक तनाव दिने गरिएको बताएकी छन्। क्वार्टर सारिएको विषयलाई लिएर समेत विवाद हुँदै आएको र अस्पतालको वाइफाइ प्रयोग गर्न नदिएको विषयलाई लिएर आफूहरूमाथि आक्रमण भएको उनको दाबी छ।
घटनापछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू असुरक्षित महसुस गरेपछि अस्पतालको नियमित सेवा सञ्चालन गर्न कठिन भएको बताइएको छ। अस्पताल प्रशासनले स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा सञ्चालन गर्न नसकिने जनाएको छ।
पलाँता गाउँपालिकाले घटनाको मुचुल्का तयार गरी सर्वपक्षीय छलफलमार्फत विवाद समाधान गर्ने जनाएको छ। स्वास्थ्य संयोजक न्यौपानेका अनुसार चिकित्सक र नर्सले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही र आफूहरूले न्याय पाउनुपर्ने मुख्य माग राखेका छन्।
अस्पतालको सेवा बन्द भएपछि पलाँता क्षेत्रका स्थानीयवासी स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था सिर्जना भएको छ। गाउँपालिकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था बनाउन पहल गर्ने जनाएको छ।