२५ साउन काठमाडौं । काठमाडौंको बनस्थली क्षेत्रमा लुटपाट तथा चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–५ का ३१ वर्षीय चुरन मगर, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ३३ वर्षीय राजकुमार गुरुङ, महोत्तरीको बर्दिबास नगरपालिका–३ का ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप नगरपालिका–५ का ३१ वर्षीय विजय बाबु घिसिङ रहेका छन्।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू बनस्थली तथा आसपासका क्षेत्रमा लुटपाट र चोरीका घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले रु। ५७ हजार ९६ रुपैयाँ नगद, ताल्चा तथा ह्याक्सो ब्लेड लगायतका सामग्री बरामद गरेको जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान तथा सम्बन्धित प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रहरीले उनीहरूबाट बरामद भएका सामग्री तथा विगतमा भएका चोरी तथा लुटपाटका घटनाबीच सम्बन्ध रहे–नरहेकोबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले घटनामा थप व्यक्तिहरूको संलग्नता भएरनभएको विषयमा समेत अनुसन्धान जारी राखेको छ।